लगानी सम्मेलनको दोस्रो दिन आज विभिन्न सत्रमा छलफल हुँदै

बैशाख १७, २०८१ मा प्रकाशित | 285 views


काठमाडौँ । काठमाण्डौमा हिजोदेखि शुरु भएको तेस्रो लगानी सम्मेलनमा आज विभिन्न सत्रमा लगानीकर्तासँग छलफल हुँदैछ । आज अर्थमन्त्री वर्षमान पुनले विकास साझेदारका प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम छ । ‘नेपालमा नवीकरणीय ऊर्जाको सम्भावना’ विषयको छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्की लगायत सहभागी हुनेछन् ।

यस्तै, ‘नवप्रवर्तनीय आर्थिक परिदृश्य’ विषयक सत्रमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी मुख्य वक्ता हुनुहुन्छ । ‘नेपालमा हरित र जलवायु अनुकूलन व्यवसायमा लगानीका अवसर’ विषयक सत्रमा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लगानीकर्तासँग छलफल गर्ने कार्यक्रम छ ।

यस्तै ‘यातायात पूर्वधार सुधार’ विषयक सत्रमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.संगीता सिंह, काठमाण्डौ विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापा र प्राध्यापक डा.सुरेशराज आचार्यलगायत सहभागी हुँदैछन् ।

अन्तिममा समापन सत्रमा नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनलाई सम्बोधन गर्ने कार्यतालिका छ । लगानी सम्मेलनको पहिलो दिन हिजो सरकार, प्रमुख प्रतिपक्ष दल र निजी क्षेत्रले नेपालमा लगानी गरी अवसरहरूको सदुपयोग गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरूसँग आह्वान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web