गर्मीयाम शुरु भएसँगै डेङ्गीको जोखिम बढ्न थाल्यो

चैत्र २२, २०८० मा प्रकाशित | 285 views


काठमाडौँ । गर्मीयाम शुरु भएसँगै डेङ्गीको जोखिम पनि बढ्न थालेको छ । गर्मी बढेसँगै मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टेले डेङ्गीको सङ्क्रमण गराउने भएकाले जोखिम बढ्दै गएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाे कीटजन्य रोग शाखाका प्रमुख डाक्टर गोकर्णप्रसाद दाहालले गर्मीसँगै पानी पनि पर्न शुरु हुने भएकाले डेङ्गीको जोखिम बढ्ने बताउनुभयो । डेङ्गीको सङ्क्रमणबाट बच्न सचेतना अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

डाक्टर दाहालले जोखिम हुने ठाउँको पहिचान गरेर लामखुट्टे मार्न अभियान सञ्चालनका लागि स्थानीय तहलाई निर्देशन दिइसकिएको बताउनुभयो । उहाँकाअनुसार डेङ्गी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ, ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेमा डेङ्गी लाग्दछ ।

डेङ्गी हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्नेलगायत लक्षण देखा पर्ने भन्दै डाक्टर दाहालले लक्षण देखा परेमा तत्काल चिकित्सकको सल्लाह लिन आग्रह गर्नुभयो । लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्ने, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न उहाँले अनुरोध गर्नुभयो ।

‘सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्ने र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिनुहुँदैन,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डाक्टर दाहालले भन्नुभयो ।

उहाँकाअनुसार सन् २०२३ मा झन्डै ५१ हजार एक सय ४३ र सन् २०२२ मा ५४ हजार ६ सय ३० जनामा डेङ्गी देखिएको थियो । नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेङ्गी देखिएको थियो । सन् २००५ मा भने डेङ्गीका बिरामी देखिएनन् । त्यसपछि सन् २००६ देखि डेङ्गीको सङ्क्रमण देखिँदै आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web