सङ्घमा गठबन्धन फेरिने बित्तिकै प्रदेश प्रमुख फेर्ने विकृति दोहोरियो

फाल्गुन २९, २०८० मा प्रकाशित | 292 views


काठमाडौँ । सङ्घीय सरकारमा सत्ता गठबन्धन फेरिने बित्तिकै प्रदेश प्रमुख फेर्ने विकृति यसपटक पनि दोहोरिएको छ । प्रदेश प्रमुख पदको गरिमा विपरीत केन्द्रमा सत्ता गठबन्धन फेरिने बित्तिकै पुराना प्रदेश प्रमुख हटाएर आफू निकटका व्यक्तिलाई नियुक्तिको सिफारिस गर्ने पुरानै विकृति यसपटक पनि दोहोरिएको हो।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखलाई पदमुक्त नयाँ व्यक्तिहरुलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। बैठकले मधेश प्रदेशको प्रमुखमा सुमित्रा भण्डारी, गण्डकी प्रदेशको प्रमुखमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशको प्रमुखमा नजिर मियाँलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

सरकारले अहिले पदमुक्त गर्न सिफारिस गरेका प्रदेश प्रमुखहरु कांग्रेस माओवादीको अघिल्लो गठबन्धन बन्दा नियुक्त भएका थिए । अहिले पदमुक्त हुनेमा का‌ंग्रेस कोटाबाट २०७८ सालको साउनमा नियुक्त भएका गण्डकीका पृथ्वीमान सिंह गुरुङ, भदौमा नियुक्त भएका मधेशका हरिङ्कर मिश्र र कात्तिकमा नियुक्त भएका सुदूरपश्चिमका देवराज जोशी हुनुहुन्छ, ।

नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस भएका तीनै जना एमाले निकट हुन् । प्रदेशहरुमा कतै विश्वासको मत फिर्ता लिने भइरहेको र कतै मन्त्रीहरुलाई बर्खास्त गर्ने काम भइराखेकोले राजनीतिक रुपमा सरल होस,केन्द्र र प्रदेशको राजनीतिक दृष्टिकोण समान बनोस भन्ने उद्देश्यले यो निर्णय गरिएको मन्त्री शर्माको जिकिर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web