काठमाडौँ । जिल्ला प्रहरी बाँकेले नेपालगञ्जका दुई वटा होटेलमा छापा मार्दा करिब सवा १ करोड रुपैयाँ बरामद गरेको छ । प्रहरीले नेपालगञ्ज बसपार्कका दुई होटेलमा छापा मार्दा श्रोत नखुलेको १ करोड १५ लाख रुपैयाँसहित छ जनालाई नियन्त्रणमा लिएको छ ।
आइतबार बाँके प्रहरीले तीन जना हुन्डी कारोबारीलाई पक्राउ गरेपछि उनीहरूको बयानका आधारमा गरिएको अपरेसनमा आज नेपालगञ्ज ४ बसपार्कमा रहेको होटेल सन्तोष दङालीमा बसेका ३५ वर्षीय रोहित क्षेत्री, दाङका ४३ वर्षीय कृष्ण बिक, भारत घर भएका राहुल जैसवाल र बसपार्ककै अर्को कालिका होटेलमा छापा मार्दा नेपालगञ्ज १६ जयसपुरका ५० वर्षीय सलिम जोलाह र सोही स्थानकै २५ वर्षीय आसिफ अन्सारीलाई करोडौँ रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी बाँकेले आइतबार ३८ लाख रुपैयाँसहित हुन्डी कारोबार गर्ने गिरोहका तीन जनालाई पक्राउ गरेको थियो । प्रहरीले आइतबार दिउँसो नेपालगन्जको धम्बोझी चोकको साङ्ग्रिला बैङ्क नजिकबाट अवैध ३८ लाख रुपैयाँसहित राजापुर १ बर्दियाका २० वर्षीय अनुप थारु र बर्दियाकै पूर्णिमा थारु र नेपालगञ्ज १६ जयसपुरका हसिब अजमत जसगढलाई पक्राउ गरेको थियो ।
प्रहरीले आज बरामद गरेको करोडौँ रुपैयाँ भारतमा भएको सुन कारोबारको हुन्डी रकम भएको बताइएको छ ।
29.14¡ÆC