
त्रिशूली (नुवाकोट) । नुवाकोट तादी गाँउपालिका–३ स्थित ‘खरानीटार–दोर्खुखोला सडक योजना’को काम लक्ष्यभन्दा एक महिना अगावै सम्पन्न भएको छ ।
तादी गाँउपालिकासंग भएको सम्झौता अनुुसार गत मंसिर २१ देखि काम सुरु गरेर चैत मसान्तसम्ममा पूरा गर्नुपर्नेमा फागुन तेश्रो साता नै काम सम्पन्न भएको हो ।

रोहना कन्स्ट्रक्सन मार्फत गरिएको उक्त सडकको स्तरउन्नतिको काम तोकिएको गुणस्तर अनुसारनै सम्पन्न भएको प्राविधिक अनुगमनमा देखिएको तादीका उपाध्यक्ष सञ्जु प्याकुरेलले जानकारी दिनुभयो ।
उहाँको अनुसार पालिकाको नियमित अनुगमन, निर्माण व्यावसायीको इमान्दारिताको साथ काममा सक्रियता र सरोकारवाला उपभोक्ताको सहयोगले लक्ष्य अगावै काम पूरा भएको छ ।
सडक स्तरउन्नतीको लागी कर बाहेक गाँउपालिकाले रु एक करोड १२ लाखमा बोलपत्र आह्वान गरेको थियो । उक्त योजनालाई करब बाहेक रु ७५ लाख ९१ हजारमा सम्पन्न गर्ने सम्झौता अनुसार काम सम्पन्न भएको हो ।
प्राविधिक प्रतिवेदन अनुसार खरानीटारदेखि दोर्खुखोलासम्म ढलान, ग्याविनबक्स, ढलनाली निर्माण लगायतका कार्य गरिएको निर्माण कम्पनीका प्रतिनिधि प्रदिप शर्माले जानकारी दिनुभयो । उहाँको अनुसार जनप्रतिनिधि र कर्मचारीको सहयोग, स्थानीय जनशक्तिको परिचालन, ‘सिफ्ट’ बनाएर नियमित काम गरिएकोले चार महिनाको काम तीन महिना पूरा नहुदै सम्पन्न गरिएको छ ।
“जाडो मौसम र छोटो दिन भएपनि मंसिरबाट सुरु भएको कामको रफ्तारलाई नियमित बनाई लक्ष्य अगावै काम पूरा गर्न सकिएको हो ।” कम्पनीका प्रतिनिधि शर्माले भन्नुभयो “विकास निर्माणमा प्राप्त बजेटको सही कार्यान्वयन गर्न सकेमा जनतालाई व्यवस्थित सडकमा आउजाउ गराउन सकिन्छ भन्ने सन्देश दिएका छौ ।”

जिल्लाको तादी गाँउपालिका–३ खारनीटारबाट दोर्खुखोला हुदै तादी–१ उर्लेनीसम्म पुग्ने उक्त सडकमा चालु आर्थिक वर्षमा करीब छ किलोमिटरको स्तरउन्नती सक्किएको छ । सो कार्यले जिल्लाको दुर्गम स्थान उर्लेनी, लच्याङका बासिन्दालाई पालिकाको केन्द्र खरानीटारहुदै जिल्लाको सदरमुकाम विदुर र राजधानी काठमाडौ आउजाउ गर्न सहज बनाएको छ ।
बागमती प्रदेश सरकार र तादी गाँउपालिकाको सयुक्त लगानीमा बिनियोजित बजेटबाट उक्त कार्य पूरा भएको हो । खरानीटार–दोर्खुखोलासम्मको सडकको स्तरउन्नती सम्पन्न भएसगैँ बजेटले साथ दिएमा उर्लेनी र लच्याङसम्म जोड्ने लक्ष्य लिएको गाँउपालिकाको अध्यक्ष सन्तमान तामाङले जानकारी दिनुभयो ।

उहाँको अनुसार दोर्खुखोलामा ४१ मिटर लम्बाइको पक्कि पुल निर्माण सम्पन्न भएकाले उक्त सडकको स्तरउन्नती गर्न सकेमा बाह्रै महिना यातायात सुचारु गराउन सक्ने बनाउन थप बजेटको लागी पहल भइरहेको छ ।

बागमती प्रदेशसमा सदस्य राधिका तामाङको पहलमा निर्माण भइरहेको उक्त योजना अन्तरगत दोर्खुखोलामा हालै सम्पन्न भएको पक्किपुलको काम पनि दुई वर्षमा सक्ने जिम्मा दिएकोमा निर्माण कम्पनीले एकवर्ष अगावै पूरा गरेर हस्तान्तरण गरेको छ ।
19.19¡ÆC