रसुवाका भुन्टेको हत्या अभियोगमा भतिजी र ज्वाई पक्राउ, कारबाहीको लागी प्रहरीबाट अनुसन्धान सुरु

फाल्गुन १८, २०८० मा प्रकाशित | 443 views


त्रिशूली । नुवाकोटको किस्पाङ गाउँपालिकामा बसोबास गर्दै आएका रसुवा उत्तरगया गाउँपालिका–३ डाँडागाउँका भुन्टे भन्ने टेकप्रसाद भट्टको हत्या गरेको अभियोगमा २ जनालाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ ।

रसुवाको कालिका गाउँपालिका वडा नं. २ धेवुगं बस्ने अनिल भुषाल र उनकै श्रीमती दिपा भट्ट भुषाललाई काठमाडौबाट पक्राउ गरेको नुवाकोट प्रहरीले जनाएको छ । ज्यान मार्ने अभियोगमा उनीहरुलाई बिहीबार पक्राउ गरेर अनुसन्धानको लागी नुवाकोट जिल्ला अदालतबाट सात दिनको म्याद लिएको जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा नुवाकोटका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।

उहाँको अनुसार घटनामा अपराध भएको आशंकसगैँ त्यस पश्चात तालिमप्राप्त कुकुरको सहयोगमा संलग्न रहेको अभियोगमा भुषाल दम्पती पक्राउ परेको हो । ७१ वर्षीय भुन्टेको हत्या उनको भतिजी ३१ वर्षीय दिपा र उनको श्रीमान ४१ वर्षीय अनिलको संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धान पक्राउ पश्चात उनीहरुले स्वीकार गरेका छन् ।

रसुवा ठूलो गाँउका भुन्टे भनिने टेक प्रसाद भट्ट यही फागुन १५ गते मंगलबार बिहान नुवाकोटको किस्पाङ गाउँपालिका वडा नंं ५ खत्रीकुना जंगलमा मृत अवस्थामा फेला परेका थिए । भीरबाट लडेको अवस्थामा मृत्त भेटिएपनि उनको टाँउमा केही प्रहार गरेर विभित्स रुपमा हत्या भएको अनुमानको आधारमा प्राप्त तथ्यले घटनामा अपराध भएको र त्यसमा उनको भतिजीको दम्पतिको संलग्नता रहेको पाइएको हो ।

यसअघि अन्यत्र बिबाह गरेर पाचवटा बच्चा भएपछि उक्त घर छाडेर दुई वर्ष अघि दिपाले अनिलसंग बिबाह गरेको थिइन् । भुन्टे र भतिजी दिपाबीच कुराकानी र भेटघाटको क्रममा अनिललाई छाड्नलाई आग्रह गरेको सूचना पाएसगैँ तीनै दिपालाई सहयोग लिएर अनिलले लाठो प्रहार गरेर विभित्स रुपमा हत्या गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ ।

दिपालाई अनिल छाड्न फकाएको विषयलाई लिएर सोही रिसईवीको कारणले उनीहरुले भुन्टेलाई किस्पाङ गाउँपालिकाको खत्रिकुना जंगलको बाटो जादै गर्दा लाठोले टाउकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएकाले कारबाहीको लागी प्रहरीले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी (प्रहरी नायव उपरीक्षक) खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँको अनुसार अविवाहित र नागरिकता समेत नबनाई लामो समयदेखि घर छाडेर नुवाकोटको किस्पाङका विभिन्न स्थानमा घुमफिर गर्ने, चर्चमा जाने, चोया काटेर बाँस र निगालोबाट बन्ने सामाग्रि बेचेर जिवन यापन गर्दै आएका भुन्टेको मृत्युलाई प्रहरीको विशेष अनुसन्धानमा प्राप्त तथ्यको आधारमा हत्या भएको भन्ने निष्कर्षमा पुगेपछि अपराधीको खोजी गर्ने क्रममा आरोपी दुई जनालाई पक्राउ गरेर कारबाही थालिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web