नेपालको शिक्षा अन्तर्राष्ट्रिय स्तरको छ : अर्थमन्त्री डा.महत

फाल्गुन १३, २०८० मा प्रकाशित | 290 views


त्रिशूली (नुवाकोट) । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालको शिक्षा अन्तर्राष्ट्रिय विश्वविद्यालयसँगको प्रतिस्पर्धामा उत्कृष्ट रहेको बताउनुभएको छ ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको शनिबार आयोजित ३८औँ वार्षिकोत्सव तथा अभिभावक भेलालाई भर्चुअलरुपमा सम्बोधन गर्दै अर्थमन्त्री डा.महतले नेपालका विद्यार्थीले उच्च शिक्षा अध्ययनका क्रममा अन्तर्राष्ट्रिय विश्वविद्यालयमा उत्कृष्ट अङ्क हासिल गर्दै आएको उदाहरण दिँदै नेपालको शिक्षा उत्कृष्ट रहेको बताउनुभयो ।

“विद्यालय तहको अध्ययन पूरा गरेका नेपाली विद्यार्थीले विदेशका विश्वविद्यालयमा छात्रवृत्तिसहित उत्कृष्ट अङ्क ल्याउन सक्ने हुनुमा नेपालको पढाइको गुणस्तर विश्वभरमा प्रतिस्पर्धी मान्न सकिन्छ”, उहाँले भन्नुभयो “गुणस्तरीय र प्राविधिक शिक्षा सहुलियत शुल्कमा उपलब्ध भएकाले अध्ययन पश्चात रोजगारको सृजनामा केन्द्रित हुन युवा वर्गलाई आग्रह गर्दछु ।”

आर्थिक समृद्धिका लागि देशमा सम्भावनाको अवसर प्रशस्त भएकाले त्यसको सदुपयोग गर्ने जिम्मेवारी युवाको काँधमा आएको उहाँले बताउनुभयो । “युवाले स्वदेशमा केही हुँदैन भनेर निराश हुनुहुँदैन । रोजगारको अवसर र सुनौलो भविष्यको खोजीमा भौतारिनुभन्दा क्षमता र दक्षताको आधारमा यही उद्यमी बन्न सकिन्छ”, उहाँले भन्नुभयो ।

देशको अर्थतन्त्र क्रमशः सुधारको लयमा फर्कदै आएकाले आगामी दिनमा सरकारको प्राथमिकता गुणस्तरीय शिक्षा र रोजगारी सृजनामा केन्द्रित हुने अर्थमन्त्री डा महतको भनाइ छ । “मूल्यवृद्धि घट्दो छ । शेयर बजार उकालो लाग्दै छ । विदेशी पर्यटनको आवागमन र राजस्वको वृद्धिले आशा पलाएको छ”, उहाँले भन्नुभयो । “आगामी वैशाखामा हुन लागेको लगानी सम्मेलनमार्फत वैदेशिक लगानी भित्र्याउन कोसिस गर्दैछौँ । देशको लगानी पनि परिचालन गर्नेछौँ । अवसरका ढोका अब खुला हुँदै जानेछन् ।”

नुवाकोट र रसुवावासीलाई लक्षित गरी ३८ वर्षअघि स्थापना भएको नुवाकोट आदर्श बहुमुखी क्याम्पसको भौतिक संरचनाको विकास र गुणस्तरीय शिक्षाका लागि प्राविधियुक्त सिकाइका लागि सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web