मुग्लिङ-नारायणगढ सडक अब बन्द नहुने

फाल्गुन ९, २०८० मा प्रकाशित | 268 views

काठमाडौँ । पुल निर्माणका लागि पहाड काट्न दिउँसो बन्द रहने मुग्लिङ-नारायणगढ सडकमा अब अवरोध नहुने भएको छ ।

फागुन १२ गतेसम्ममा बाँकी रहेको सात मिटर पहाड काट्ने काम सकिने भएकाले अब बाटो बन्द नहुने नागढुंगा-मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए ।

‘काम अन्तिम चरणमा पुगेको छ । बाँकी रहेका दिनमा धेरै भाग कटान गर्नेछौँ’, उनले भने, ‘निर्धारित समयमा पनि पूरा नभए अन्य उपायबाट कटान गर्नेछौँ । तर सवारीसाधनलाई अवरोध गर्ने छैनौँ ।’

पुल निर्माणका लागि पहाड काट्नुपर्ने भएपछि वैकल्पिक बाटो नहुँदा सडक बन्द गरेर काम गरिएको थियो । ३५ मिटर पहाड काट्ने प्रयोजनका लागि गत पुस ७ गतेदेखि यो सडकखण्डमा दिउँसो १२ बजेदेखि ४ बजेसम्म सवारीसाधन बन्द गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले गत पुस ७ गतेदेखि सडक बन्द गरेर काम गर्ने निर्णय गरेको थियो। पहिलो चरणको समयमा काम नसकिएपछि समय थप गरेर फागुन १२ गतेसम्मको समय दिइएको थियो ।

उच्च क्षमताका तीन वटा एक्साभेटरले चट्टान फोर्ने काम गरिरहे पनि कडा चट्टान भएकाले काम ढिलो भएको सूचना अधिकारी आचार्यले जानकारी दिए। ६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो । ३५ मिटर चट्टान स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर फोरिएको छ ।

यो सडकका १९ मध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको छ। बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । हालसम्म आठ पुल सञ्चालनमा आइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web