उच्चको फैसलापछि १० फागुनभित्र सरुवाको काम सक्न तारकेश्वरका स्कुलहरुलाई निर्देशन

फाल्गुन ५, २०८० मा प्रकाशित | 339 views

उच्चको फैसलापछि १० फागुनभित्र सरुवाको काम सक्न तारकेश्वरका स्कुलहरुलाई निर्देशन

नुवाकोट । तारकेश्वर गाउँपालिकाले काज सरुवा भएका सबै शिक्षकलाई १० फागुनभित्र हाजिर गराइसक्न सम्बन्धित सबै विद्यालयलाई निर्देशन दिएको छ ।

२ फागुनमा उच्च अदालत पाटनले सरुवा विरुद्धको रिट खारेज गरेसँगै ३ गते बसेको गाउँ शिक्षा समितिको बैठक बसेको थियो ।

बैठकको निर्णयअनुरूप ३ गते नै सबै विद्यालयलाई पत्राचार गरी सरुवा कार्यान्वयन सम्पन्न गर्न एक साताको समय दिइएको शिक्षा समितिका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले जनाएका छन् ।

अदालतले सदर गरेको विषयमा अब कुनै बहाना चल्दैन,’ हामीसँग संक्षिप्त संवादमा अध्यक्ष अधिकारीले भने, ‘१० फागुनसम्म पनि काम सम्पन्न नगर्ने प्रधानाध्यापक र व्यवस्थापन समितिउपर तत्कालै कानुनी कारबाही सुरु हुन्छ ।’

किन्तु परन्तुका लागि अब कुनै ठाउँ बाँकी नरहेको बताउँदै उनले तत् तत् स्थानमा हाजिर भई इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न सम्बन्धित सबै शिक्षकलाई सुझाब दिए ।

शिक्षाको गुणस्तर सुधारका लागि सबै शिक्षकको सरुवा गर्ने निर्णय गर्दै गाउँ शिक्षा समितिले १८ भदौमा पहिलो चरणमा ८६ जना शिक्षकको काज सरुवा गरेको थियो ।

सरुवाप्रति असन्तुष्टि जनाउँदै केही शिक्षक संगठनको अगुवाइमा उच्च अदालतमा दायर मुद्धामा पहिलो सुनुवाइमा उच्चले सरुवा रोक्न अन्तरिम आदेश दिएको थियो । दोस्रो सुनुवाइमा गाउँपालिकाका तर्फबाट दलिल पेस भएलगत्तै उच्चले अन्तरिम आदेश खारेज गरिदिएको थियो ।

सरुवा कार्यान्वयनको बाटो त्यतिखेरै खुलिसकेको भए पनि आम सहमतिलाई मध्यनजर गर्दै गाउँपालिकाले अन्तिम फैसला नआएसम्म कार्यान्वयनमा लचिलो हुने नीति अख्तियार गरेको अध्यक्ष अधिकारी बताउँछन् ।

अन्तिम फैसलासँगै सबै सवालको अन्त्य भएकाले १० फागुनभित्रै सबै प्रक्रिया सम्पन्न हुने उनको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web