नेकपा माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित

फाल्गुन ४, २०८० मा प्रकाशित | 242 views

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रथम विधान अधिवेशनले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको विधान परिमार्जनसहित पारित गरेको छ ।

काठमाडौँमा तीन दिनदेखि जारी विधान अधिवेशनमा आज पार्टी अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको समूहगत छलफलबाट प्राप्त सुझावसहितको संशोधित विधान पारित भएको हो ।

नयाँ विधानले पार्टीका सबै कमिटीमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयन गर्ने व्यवस्था गरेको माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

यस्तै, पार्टीको सङ्गठनात्मक सिद्धान्तमा जनवादी केन्द्रीयता नै रहने, ११ जना केन्द्रीय पदाधिकारीसहित १ सय ९९ सदस्यीय केन्द्रीय समिति रहने र ६७ जना पोलिटब्युरो सदस्य रहने व्यवस्था नयाँ विधानले गरेको छ ।

विधान अधिवेशनमा पार्टीको नाम र निर्वाचन चिन्ह परिवर्तन गर्ने विषयसमेत उठेको भएपनि तत्कालका लागि यथावत् राख्ने र आवश्यकता अनुसार समयसापेक्ष बनाउन सकिने व्यवस्था गरेको प्रवक्ता सापकोटाले विधान अधिवेशनपछि सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो ।

फागुन १ गतेदेखि काठमाडौँमा सुरु भएको माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा विभिन्न २० वटा समूहहरू गठन गरी प्रस्तावित विधानमाथि छलफल गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web