केरुङ र तातोपानी जोड्ने सडक सुधार गर्न व्यापारीको माग

माघ २७, २०८० मा प्रकाशित | 279 views

केरुङ र तातोपानी जोड्ने सडक सुधार गर्न व्यापारीको माग

काठमाडौँ । उद्योगी व्यापारीले केरुङ र तातोपानी नाका जोड्ने सडक पूर्वाधार सरकारले उच्च प्राथमिकता दिएर व्यवस्थित गर्नुपर्ने माग गरेका छन् ।

शनिवार काठमाडौँमा भएको नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारणसभालाई सम्बोधन गर्दै उनीहरूले यस्तो माग गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केरुङ र तातोपानी नाका जोड्ने सडक पूर्वाधारलाई सरकारले उच्च प्राथमिकता दिएर व्यवस्थित गर्न आवश्यक रहेको बताए।

ढकालले सरकारले चीनसँगको व्यापार व्यवसाय सहज बनाउन सबैभन्दा पहिला सडक सञ्जाललाई व्यवस्थित बनाउनुपर्ने बताए ।

यसैगरी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चिनियाँ नाकालाई आयातमुखी भन्दा पनि निर्यात प्रवर्धनको रूपमा विकास गर्न आवश्यक रहेको बताएका छन् ।

उनले केरुङ र तातोपानी नाकालाई निर्यात प्रवर्धनको रूपमा विकास गर्न दुवै नाकामा अन्तरराष्ट्रिय स्तरको क्वारेन्टाइन ल्याब सरकारले राख्न आवश्यक रहेको बताए। उनले क्वारेन्टाइनको अभावका कारण सामान गुणस्तर नहुने भन्दै नेपाली सामान चीनले निर्यात गर्न नचाहेको बताए ।

मल्लले चीनसँग नेपालको १ खर्ब ४५ अर्ब व्यापार घाटामा रहेको भन्दै पर्यटन प्रवर्धन र नेपाली जडिबुटीको निर्यात गर्नसके चीनसँगको व्यापार घाटा कम गर्न सकिने दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web