दुर्घटना न्यूनीकरण र ट्राफिक जनचेतना फैलाउन “ट्राफिक सप्ताह” सुरु

माघ २६, २०८० मा प्रकाशित | 183 views


नुवाकोट । सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि नुवाकोटमा “ट्राफिक सप्ताह–२०८०” बिहीबारदेखि मनाउन सुरु भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेश सरकारको सहयोगमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनसंगको सहकार्य तथा जिल्ला प्रहरी कार्यालय नुवाकोट र जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटको संयुक्त आयोजनामा विभिन्न रचनात्मक तथा सन्देशमूलक कार्यक्रम गरेर नुवाकोटमा पनि “ट्राफिक सप्ताह–२०८०” मनाउन थालिएको हो ।


कार्यक्रमको उद्घाटन समारोहको अवसरमा नुवाकोटको बट्टार स्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा भेला भएका जिल्लाका सरोकारावालाहरुको प्रभातफेरी बट्टार बसपार्कसम्म पुगेर प्रवचन सभा र फोटो प्रदर्शनीमा सहभागी भएको थियो ।


बसपार्कमा आयोजित प्रवचनसभामा कार्यक्रमको प्रमुख अतिथी जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरीले नियमित रुपमा आफ्नो कर्तव्य अन्तरगत ट्राफिक सचेतना गराउदै आइरहेको समयमा सप्ताहब्यापी रुपमा सुरु भएको अभियानमा सबैले हातेमालो गरेर सफल बनाउन आग्रह गर्नुभयो । उहाँले ट्राफिक सप्ताह सवारी दुर्घटना रोक्न केन्द्रित भएकाले यस कार्यक्रम सबैको साझा अभियानको रुपमा रहेको स्पष्ट पार्नुभयो ।


कार्यक्रममा विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतनाको लागी नगरपालिका सदैव सकारात्मक रहेको बताउनुभयो । उहाँले दुर्घटना रोक्न र अपराध नियन्त्रण गर्नको लागी आफू उद्योग बाणिज्य संघको अध्यक्ष रहदाँ विदुर नगरपालिकाको सडकमा सिसिटिभी क्यामरा जडान गरेकाले यसलाई थप व्यवस्थित बनाउन आवश्यक सहयोगको प्रतिबद्धता जनाउनुभयो ।


कार्यक्रमको सभाध्यक्ष समेत रहनुभएका नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले ट्राफिक जनचेतनाको लागी प्रहरीको जिम्मेवारी तोकिएको भएपनि यसमा सरोकारवालाहरु सवारीधनी, सवारी चालक र सहचालक, यात्रुवर्ग सबैको जिम्मेवारी समान रहेको स्पष्ट पार्नुभयो । सवारी दुर्घटना हुन नदिन सवारीसाधनको अवस्था चुस्त बनाउन, सडकलाई व्यवस्थित बनाउन र सडक अतिक्रमण नगरी स्वतन्त्र रुपमा गाडीलाई आउजाउ हुने व्यबस्था गर्नु र गराउनु सबैको दायित्व भएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले स्मरण गराउनुभयो ।

सो अवसरमा नुवाकोटका प्रहरी प्रमुख सञ्जयसिंह थापाले शान्ति सुरक्षा र नागरिकको अमनचयनको लागी प्रहरीको जिम्मेवारी अन्तरगत रहेको ट्राफिक जनचेतनाको कार्यक्रममा नागरिकको सुरक्षाको लागी सबैभन्दा महत्वपूर्ण कार्य भएको बताउनुभएको छ । जिल्लामा सवारी दुर्घटनाबाट ज्यान गुमाउने र अङ्गभङ्ग हुनेक्रम पछिल्ला वर्षहरुमा कमी हुदै आएपनि लापरबाहीको क्रम भने अझै नरोकिएको भन्दै पालना गर्नुपर्ने नियम पूरा गर्नको लागी सम्बन्धित सबैलाई सचेत गराउनुभयो ।

ट्राफिक सप्ताहको अवसरमा आयोजित प्रभातफेरी र प्रवचन सभामा नुवाकोटको शिवपुरी गाँउपालिकाको अध्यक्ष गोविन्द थपलिया, तादी अध्यक्ष सन्तमान तामाङ, म्यागङ अध्यक्ष आशा तामाङ, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीहरु लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो । प्रभातफेरी र सभा पश्चात बट्टार बसपार्कमा आयोजित “ट्राफिक जनचेतना सम्बन्धि फोटो प्रर्दशनी”को अवलोकन पश्चात सरोकारवालाहरुले दुर्घटना रोक्नको लागी ट्राफिक नियमको पालना गर्नुपर्ने ज्ञानको स्मरण भएको बताएका थिए ।


२०८० माघ २५ गते बिहीबारदेखि सुरु भएको ट्राफिक सप्ताह नेपाल प्रहरीको विभिन्न युनिटहरुको अगुवाईमा सुरु भएपनि यसलाई स्थानीयतह, स्थानीय प्रहरी, विभिन्न संघसंस्थासँगको समन्वय तथा सहकार्यमा साताव्यापी रूपमा विविध ट्राफिक चेतनामूलक कार्यक्रमको साथ मनाउन लागिएको छ ।

सप्ताहको अवसरमा विभिन्न निकायको अगुवाई तथा समन्वयमा हरेक दिन विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख जे जंग कार्कीले जानकारी दिनुभयो ।

उहाँको अनुसार बिहीबारदेखि सुरु भएर एक हप्तासम्म निरन्तर चल्ने ट्राफिक सप्ताह कार्यक्रममा चालक, परिचालक, पैदलयात्री, विद्यार्थी र समग्रमा सडक प्रयोगकर्ता लक्षित ट्राफिक चेतनामूलक अभियानका कार्यक्रमहरू सञ्चालनमा ल्याइएको छ । यस कार्यक्रमले दुर्घटना न्यूनीकरण गर्न, सडक अनुशासन कायम राख्न र सडक प्रयोगकर्तालाई जिम्मेवारी बोध गराउन महत्तवपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा सवारी दुर्घटनाको विश्लेषण गर्दा अधिकांश सवारी दुर्घटना तीव्र गति, ट्राफिक नियमको उल्लङ्घन, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने लगायतका चालकको लापरबाहीका कारण हुने गरेको पाइएको छ ।

यस्तै सडकको अवस्था, सवारी साधनको खराब अवस्था र सवारीको यान्त्रिक गडबडी र सडक प्रयोगकर्तामा ट्राफिक नियमको पर्याप्त ज्ञानको अभाव पनि सवारी दुर्घटनाका कारण बनेकाले सडक सुरक्षा तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि ट्राफिक सप्ताहको आयोजना गरिएको ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख जे जंग कार्कीले जानकारी दिनुभयो ।

जनचेतनामूलक कार्यक्रम अन्तरगतग बिहीबारदेखि नै नुवाकोटमा ट्राफिक प्रहरीले विद्यालय सम्पर्क कार्यक्रम, चालक र परिचालकलाई ट्राफिक ज्ञानको अभिवृद्धि गर्नुका साथै उनीहरूको स्वास्थ्य परीक्षण, विद्यार्थी लगायत सवारी चालक र सह–चालकलाई समेत स्वयंसेवकको रूपमा परिचालन गर्ने, जनचेतनामूलक स्टिकर तथा पर्चा पम्पलेट वितरण गर्ने लगायतका कार्यक्रमहरु राखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web