२७ हजार भूकम्पपीडितले पाए पहिलो किस्ताको रकम

माघ ६, २०८० मा प्रकाशित | 207 views

काठमाडौँ । रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितमध्ये हालसम्म २७ हजार ९१ जनाले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम पाएका छन्। ४२ हजार ५२४ पीडितमध्ये २७ हजार ९१ पीडितले मात्र पहिलो किस्ताको रकम पाएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार भेरी नगरपालिकाका जम्मा पीडित छ हजार ६३४ मध्ये चार हजार ६४२ ले पहिलो किस्ताको रकम पाएका छन्।

नलगाड नगरपालिकाका जम्मा आठ हजार ९७ जना पीडितमध्ये सात हजार १५० जनाले पहिलो किस्ता रकम प्राप्त गरेको जानकारी गराएको छ। छेडागाडमा आठ हजार २०५मध्ये दुई हजार १८८ जनाले मात्र रकम पाएको उल्लेख छ।

बारेकोटमा पाँच हजार ५८६ मध्ये चार हजार ६८७ जनाले पहिलो किस्ताबापतको रकम पाएका छन्। कुशे गाउँपालिकाका पाँच हजार २८७ परिवारमध्ये चार हजार १५४ परिवारले पहिलो किस्ताको रकम पाएका छन्।

त्यस्तै जुनिचाँदे गाउँपालिकामा पाँच हजार ४०६ मध्ये एक हजार ११३ परिवारलाई पहिलो किस्ता उपलब्ध गराएको छ। शिवालय गाउँपालिकामा तीन हजार ३०९ मध्ये तीन हजार १४७ परिवारलाई पहिलो किस्ता उपलब्ध गराएको जानकारी दिइएको छ।

बयालीस हजार ५२४ पीडितमध्ये हालसम्म २७ हजार ९१ परिवारले रकम बुझेको प्रशासनको विज्ञप्तिमा जनाएको छ। दश हजार १५९ परिवार मात्र अहिलेसम्म अस्थायी टहरा निर्माण गरेर बसिरहेको समेत उल्लेख छ।

हालसम्म ३२ हजार ३६५ परिवार अझै त्रिपालमा बसिरहेका छन्।भूकम्पपीडितको जम्मा सङ्ख्या ४२ हजार ५२४ रहेको छ। हालसम्म जुनिचाँदे गाउँपालिकामा कुनै पनि अस्थायी आवास निर्माण नगरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web