राष्ट्रिय सभा सदस्य चुनावका लागि आजदेखि आचारसंहिता लागू

माघ २, २०८० मा प्रकाशित | 307 views

राष्ट्रिय सभा सदस्य चुनावका लागि आजदेखि आचारसंहिता लागू

काठमाडौँ । आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको चुनावका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले यसअघि आजदेखि माघ १२ गतेसम्म लागू हुने गरी आचारसंहिता जारी गरेको थियो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आचारसंहिता अवधिभर कुनै सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन पाइने छैन । यस्तै, प्रचारप्रसार लगायतका कुरामा पनि आयोगले गर्न नहुने कुराहरूको सूची सार्वजनिक गरिसकेको छ । कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी चुनावसम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने उल्लेख छ ।

यस्तै, राजनीतिक दल वा उम्मेदवारको चुनाव चिह्न अङ्कित कुनै सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने कानुनी व्यवस्था छ । साथै ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी चुनाव प्रचारप्रसार गर्न वा गराउन तथा बालबालिकालाई चुनाव प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन पाइँदैन ।

आचारसंहिताअनुसार प्रचलित कानुन बमोजिम निषेध गरिएको समय र ठाउँमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी चुनाव प्रचारप्रसार गर्न वा गराउन पाइँदैन ।

यस्तै, सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन, चुनावलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने जस्ता भ्रामक टिप्पणी गर्न वा गराउन नहुने उल्लेख छ । यसअघिका चुनावमा पनि आयोगले यसैगरी आचारसंहिता लागू गरे पनि दल र उम्मेदवारबाट पालना नगरेको पाइएको थियो ।

उजुरीपछि आयोगले केहीलाई कारबाही पनि गरेको थियो । सुशासन र सदाचारको कुरा गर्ने राजनीतिक दल र उम्मेदवारले आचारसंहिताको पालना गर्नुपर्ने तर पालना नगरेको भेटिए कारबाही हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web