
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदयाममा बागमती प्रदेशदेखि पश्चिमी भेगका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा भने सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण छ । तापक्रम भने गत वर्षको हाराहारीमै हुने प्रक्षेपण छ ।
नेपालमा मंसिर १५ गतेदेखि फागुन १७ गतेसम्मको अवधिलाई हिउँदयाम मानिन्छ । यो अवधिमा ६०.१ मिलिमिटरसम्मको वर्षालाई सरदर मानिएको छ ।
यो वर्ष सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण रहेको जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेलले जानकारी दिइन् । गत वर्ष मध्य तथा पश्चिम क्षेत्रमा बढी वर्षा भएको थियो भने कोशी, मधेश र बागमती प्रदेशमा कम वर्षा भएको थियो ।
यो हिउँदयाममा तापक्रम भने गत वर्षको जस्तै रहने सामान्य प्रक्षेपण छ । लुम्बिनी, बागमती, मधेश र कोशी प्रदेशतिर सरदरभन्दा कम जाडो हुने छ ।
‘अधिकतम तापक्रम सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका मध्य तथा उत्तरी भू–भागमा सरदर वा सरदरभन्दा कम हुने र बाँकी भू–भागमा सरदरभन्दा बढी हुने सम्भावना छ । न्यूनतम तापक्रम कर्णाली, गण्डकी र कोशी प्रदेशका उत्तरी भू–भागमा सरदर वा सरदरभन्दा कम र बाँकी भू–भागमा सरदरभन्दा बढी रहने सम्भावना छ,’ अर्का मौसमविद सुदर्शन हुमागाईंले भने ।
27.46¡ÆC