शान्ति कायमका लागि एक ठाउँमा उभिने दलको प्रतिबद्धता

अशोज १८, २०८० मा प्रकाशित | 383 views

काठमाडौँ । कांग्रेस, एमाले, माओवादीलगायत दलका नेताहरूले अरू राजनीतिक मुद्दामा आ–आफ्ना अडान भए पनि मुलुकको शान्ति र स्थायित्वका लागि एक ठाउँमा उभिने बताएका हुन् । मुलुकमा अस्थिरता ल्याउने प्रयास भइरहेको उल्लेख गर्दै राजनीतिक दलले लोकतान्त्रिक गणतन्त्रको जगमा बनेको राष्ट्रिय एकता कसैले बिथोल्न नसक्ने बताएका छन् ।

एमाले प्रवक्ता राजेन्द्र गौतमले विभिन्न बहानामा जातीय, धार्मिक, सांस्कृतिक द्वन्द्व सिर्जना गरी मुलुकमा अस्थिरता ल्याउने प्रयास सफल नहुने बताए । ‘विभिन्न ठाउँमा जातीय, धार्मिक र सांस्कृतिक मेलमिलाप बिथोल्ने प्रयासलाई एमालेले गम्भीर असहमति प्रकट गर्दछ,’ उनले भने, ‘समाजमा द्वन्द्व बढाएर कसैले राजनीतिक ठाउँ बनाउन खोजेको हो भने त्यो सफल हुन सक्दैन ।’ माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले राजनीतिक व्यवस्था परिवर्तन गर्न क्षमता राख्ने राजनीतिक दलसँग देशमा अस्थिरता ल्याउने चलखेल असफल पार्न सक्षम भएको बताए । ‘राजनीतिक दलबीच अन्तरविरोध छन् तर राष्ट्रिय एकताको पक्षमा प्रमुख राजनीतिक दल एक ठाउँमा छन्,’ उनले भने, ‘सरकार, राजनीतिक दलप्रति जनताका धेरै जायज गुनासा छन् तर एकअर्काको धार्मिक आस्था, सांस्कृतिक मूल्यमान्यताप्रति सम्मान गरी मिलेर बसेका विभिन्न समुदाय लोकतन्त्र बलियो बनाउने पक्षमा छन् ।’ उनले समाजमा द्वन्द्व बढाउने प्रयास भए पनि त्यो सम्भव नभएको बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्न जुट्न अपिल गरेका छन् । बुधबार विज्ञप्तिमार्फत उनले मंगलबार बाँकेमा भएको द्वन्द्वले देशको धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्‍याउन सक्ने देखिएकामा चिन्ता व्यक्त गरेका छन् । उनले पार्टीका सबै तहका नेता–कार्यकर्ता र जनप्रतिनिधिलाई समेत आपसी एकता र सद्भाव कायम राख्न एकढिक्का भएर लाग्न आग्रह गरेका छन् ।

एमाले, माओवादी, एकीकृत समाजवादीले पनि नेता–कार्यकर्ता र जनप्रतिनिधिलाई सामाजिक सद्भाव बलियो बनाउन भूमिका खेल्न निर्देशन गरेका छन् । राप्रपा महासचिव एवं बाँके–२ का सांसद धवलशमशेर जबराले नेपालगन्जमा धार्मिक सद्भाव कायम राख्न राजनीतिक दल र धार्मिक समुदाय प्रतिबद्ध भएको बताए । उनले कसैले व्यक्तिगत रूपमा धर्म वा जातिका नाममा द्वन्द्व ल्याउन खोजे पनि त्यहाँको समुदाय सामाजिक सद्भाव बलियो बनाउन एकमत भएको बताए । ‘समुदाय–समुदायबीच सद्भाव राख्न कुनै समस्या छैन । कसैले व्यक्तिगत रूपमा त्यो सद्भाव बिथोल्न खोजे प्रशासनले कारबाही गर्नुपर्‍यो,’ उनले भने ।

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको सुरक्षा परिषद्को बैठकले मुलुकको शान्ति सुरक्षाबारे समीक्षा गरेको छ । केही समयअघि धरान, यो साता नेपालगन्जमा भएको घटनाको समीक्षा गर्दै सुरक्षा परिषद् भावी योजनाबारे छलफल भएको हो । सुरक्षा अंगका प्रमुखले पछिल्लो शान्ति सुरक्षाबारे ब्रिफिङ गरेका थिए । उनीहरूले मुलुकमा शान्ति सुरक्षा कायम राख्न सुरक्षा निकाय तयारी अवस्थामा रहेको समेत बताए । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयका महासेनानी रामकाजी थापाले धार्मिक र साम्प्रदायिक असहिष्णुता बढाउने गतिविधिलगायतका विषयमा छलफल भएको जानकारी दिए । बैठकमा नेपालगन्जलगायत क्षेत्रमा भएका घटनाबारे विश्लेषण गर्दै सुरक्षा अंगले चाल्नुपर्ने योजनाबारे पनि छलफल भएको थियो ।

यसैबीच, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मधेश प्रदेशको शान्ति सुरक्षा कायम गर्नेबारे अन्तरक्रिया गरी राजधानी फर्केका छन् । राजविराजमा प्रदेश मन्त्री, राजनीतिक दलका प्रतिनिधि, प्रदेश र जिल्ला प्रशासन, सुरक्षा निकायका प्रमुखहरूसँग बुधबार छलफल गरेका छन् । आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखहरूले त्यहाँको अवस्थाबारे गृहमन्त्री श्रेष्ठलाई ब्रिफिङ गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web