संघीय निजामती विधेयकको विरोधमा स्थानीय तहका कर्मचारी सडकमा

अशोज १७, २०८० मा प्रकाशित | 443 views

संघीय निजामती विधेयकको विरोधमा स्थानीय तहका कर्मचारी सडकमा

काठमाडौँ । संघीय निजामती विधेयकको विरोधमा देशभरका स्थानीय सेवाका कर्मचारीहरू आन्दोलनका लागि काठमाडौं आएका छन् ।

देशभरका ७५३ स्थानीय तहका कर्मचारी काठमाडौं आइरहेको स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिका महासचिव विजय देवकोटाले बताए । ‘३३ जिल्ला स्थानीय तहका कर्मचारीहरू मुग्लिनको जाममा रहेका छन्, नत्र आजै आन्दोलन ठूलो हुन्थ्यो’ महासचिव देवकोटाले भने ।

संघीय निजामती विधेयकमा स्थानीय सेवामा काम गर्नेलाई कर्मचारी नै स्वीकार नगरिएकाले आन्दोलन गर्नुपरेको संघर्ष समितिले जनाएको छ । उनीहरूले स्थानीय तहमा स्थानीय सेवाकै प्रमुख प्रशासकीय अधिकृत हुनुपर्नेमा संघको कर्मचारी पठाउने प्रस्ताव विधेयकमा गरिएकाले आन्दोलन गर्न बाध्य भएको देवकोटाले बताए ।

साथै, स्थानीय सेवामा कार्यरत कर्मचारीलाई समेटेर एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, स्थानीय सेवाका कर्मचारीको सेवाको सुरक्षा हुनुपर्ने, समायोजन भएका कर्मचारीको उचित व्यवस्थापन हुनुपर्ने, करारका कर्मचारीलाई व्यवस्थापन गर्नुपर्ने, तीनै तहका कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समेट्नुपर्ने माग रहेका छन् ।

यस्तै कर्मचारी कल्याण कोषको व्यवस्था स्थानीय सेवाका कर्मचारीलाई हुनुपर्ने, स्थानीय कर्मचारीलाई ट्रेड युनियन अधिकार दिनुपर्ने, अन्तरप्रदेश सरुवा लागू गर्नुपर्ने माग उनीहरूले गरेका छन् ।

कर्मचारी समायोजन ऐन अनुसार संघबाट समायोजन भएका, साविक जिल्ला विकास समिति, गाउँ विकास समितिबाट स्थानीय सेवामा समायोजन भएका कर्मचारी, लोकसेवा आयोग र प्रदेश लोकसेवा आयोगले नियुक्त गरेर स्थानीय तहमा खटाएको करिब ३५ हजार कर्मचारी स्थानीय सेवामा कार्यरत रहेको देवकोटाले जानकारी दिए । ‘हामी माग पूरा नभएसम्म सडक छोड्दैनौं’, देवकोटाले अनलाइनखबरसँग भने ।

संघर्ष समितिले प्रधानमन्त्री कार्यालय, सामान्य प्रशासन मन्त्रालयमा ज्ञापनपत्र बुझाए पनि सरकारले वास्ता नगरेको बताएको छ । सरकारले वार्तामा नबोलाए आन्दोलन झन् सशक्त हुने समेत उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web