पाच वर्षसम्म अलपत्र परेको ‘तादी–सिन्दुरे’ खोलाको पुलमा गाडी चल्न थाल्यो

भदौ २१, २०८० मा प्रकाशित | 704 views

त्रिशूली । नुवाकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नपा–१२ स्थित तादी खोलामा निर्माण थालिएको आठ वर्षपछि पक्कि पुल सञ्चालनमा आएको छ । निर्माण सम्पन्न गरिसक्नुपर्ने भन्दा थप पाचवर्ष ढिलो गरेर पुल निर्माण सम्पन्न भएको सडक डिभिजन नुवाकोटले जनाएको छ ।

डिभिजन प्रमुख अमृतमणि रिमालको अनुसार पुल निर्माणको क्रममा परिवर्तन गरिएको खोलाको बहाब नियन्त्रणमा लापरबाही भएसगैँ पाच वर्षसम्म अलपत्र भएको पुल अहिले सञ्चालनमा आएको हो । ११ मिटर चौडा रहेको उक्त पुलको लम्बाई दुईसय ५४ मि.लामो छ ।

“पुल निर्माणको क्रममा तादी खोलाको बहाबले विदुरतर्फ खोलाको बहाब परिवर्तन भएसगैँ अहिले बनाएको पुलको दुरी जत्तिकै थप स्पाम आवश्यक पर्नेभन्दै काम रोकिएको थियो ।” डिभिजन प्रमुख रिमालले भन्नुभयो । “खोलाको बहाब नियन्त्रण गरेसगैँ पाच वर्षसम्म जुन अवस्थामा रहेको थियो, सोही अबस्थाकै पुललाई अहिले सञ्चालनमा ल्याइएको हो ।”

पुल निर्माणको क्रममा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा औल्याइएको र सुरुवाती ठेक्काको समयमा गरिएको सम्झौता अनुसार रु.१२ करोड ५९ लाख लगानीमा निमार्ण कार्य सम्पन्न भएको डिभिजन कार्यालयका ईञ्जिनियर सुमनराज बस्नेतले जानकारी दिनुभयो । उहाँको अनुसार पुल निर्माणको जिम्मेवारी पाएको शर्मा–वाइबा जेभी कम्पनीलाई अझै दश प्रतिशत रकम भुक्तानी दिन बाँकी छ ।

तादी र सिन्दुरे खोलाको दोभानमा निर्माण गरिएको उक्त पुलले नुवाकोटको सदरमुकाम विदुरलाई राजधानी काठमाडौसंग जोड्न सबैभन्दा छोटो दुरी पर्दछ । विदुरबाट पाच किलोमिटरको दुरीमा रहेको उक्त पुल हुदैँ ककनीसम्मको दुरी १८ किमि पर्दछ ।

साविकको पासाङल्यामु राजमार्ग अन्तरगत ककनीबाट बालाजु २२ किमीको दुरीमा रहेकाले नुवाकोटको सदरमुकामबाट काठमाडौ जोड्न तादी खोलाको अहिले सञ्चालनमा आएको पुल सबैभन्दा बढी उपयोगी हुने ककनी गाँउपालिकाको अध्यक्ष सुमन तामाङ (सञ्जन)ले बताउनुभयो ।

उहाँको अनुसार पुलबाट सवारीसाधन आउजाउ गर्न थालेसगैँ ककनी गाँउपालिका पूरै र बेलकोटगढी नगर विभिन्न वडाका बासिन्दालाई अहिले प्रयोग गर्दै आएको पासाङल्यामु राजमार्गको भन्दा आधा दुरी छोटो पर्दछ ।

“ककनीमा उत्पादित कृषि सामाग्रि जिल्लाको सदरमुकामसम्म पुराउदा काठमाडौ घुमाएर अर्को सडकको प्रयोग गर्नुपर्ने बाध्यता टरेको छ ।” ककनीका अध्यक्ष तामाङले भन्नुभयो “सडकलाई बाह्रैमहिना सञ्चालनमा ल्याउन आवश्यकता अनुसार स्तरउन्नतीमा तीनैतहका सरकारले प्राथमिकता दिएका छौ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web