प्रतिनिधिसभाका १० वटै समितिका सभापति निर्विरोध निर्वाचित

भदौ ११, २०८० मा प्रकाशित
Published at 2023-08-28

617 views

प्रतिनिधिसभाकाे १० वटै समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् ।

समितिको सभापतिका लागि हिजाे आइतवार उम्मेदवारी प्रस्ताव दर्ता भएकाे थियाे । नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिको सभापतिमा दुई जनाको उम्मेदवारी प्रस्ताव दर्ता भएको थियो ।

एकल उम्मेदवारी प्रस्ताव आएका समितिमा स्वतः सभापति घोषणा भएका छन् । साथै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि जनमतका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी दर्ता भएकाेमा पराजुलीले फिर्ता गरिसकेपछि खान निर्वाचित हुनुभएको हो । सभापति घोषणासँगै आजै शपथ ग्रहणको तयारी भइरहेको संसद् सचिवालय जनाएकाे छ ।

अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादव निर्वाचित हुनुभएको छ । त्यस्तै कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र) की विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसकी आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा निर्वाचित हुनुभएको छ ।

त्यसैगरी पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह निर्वाचित हुनुभएकाे छ । यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा एमालेका ऋषिकेश पोखरेल निर्वाचित हुनुभएको छ ।

प्रतिनिधिसभाको चुनाव भएको नौ महिनापछि मात्र संसदीय समितिले पूर्णता पाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.