पछिल्लो समय डेङ्गु सङ्क्रमण बढ्यो

साउन ३, २०८० मा प्रकाशित | 305 views

काठमडौँ । पछिल्लो समय डेङ्गु सङ्क्रमण बढेको पाइएको छ । पानी लगातार पर्न थालेपछि डेङ्गु सङ्क्रमण उच्च भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता सङ्क्रमण बढेको बताए ।

उनका अनुसार लगातार परिरहेको पानीले गर्दा सरसफाइमा ध्यान पुग्न सकेको छैन । सोही कारण सङ्क्रमण दैनिक बढिरहेको छ । पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेर सङक्रमण दिनानुदिन बढिरहेको निर्देशक मरासिनीले जानकारी दिए ।

डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुल लार्भा बन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोक्छ र डेङ्गु सङ्क्रमण हुन्छ । एक हप्तामा बीचमा एक हजारभन्दा बढी डेङ्गुका बिरामी भेटिएका छन् ।

महाशाखाका अनुसार यही असार २७ गते एक हजार तीन सय ३७ सङ्क्रमण भएकोमा साउन १ गते सम्म आइपुग्दा सङ्ख्या बढेर दुई हजार नौ सय ३० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

यसपटक कोशी प्रदेशमा सङ्क्रमण बढेको पाइएको छ । कोशी प्रदेशमा एक हजार सात सय ४६, बागमती प्रदेशमा चार सय ६८, सुदूरपश्चिम प्रदेशमा दुई सय ७९, गण्डकी प्रदेशमा दुई सय ६९, लुम्बिनी प्रदेशमा एक सय ३४, कर्णाली प्रदेशमा १८ जना र मधेस प्रदेशमा १६ जनामा सङ्क्रमण देखिएको छ ।

१० जिल्लामा बढी सङ्क्रमण

नयाँ देखिएका बिरामीमध्ये ८२ प्रतिशत बिरामी १० जिल्लाका रहेका छन् । सबभन्दा बढी सुनसरी जिल्लामा एक हजार पाँच सय ७१, धादिङ दुई सय ५६, दार्चुला एक सय ८८, कास्की एक सय ४९, सङ्खुवासभा ५८, काठमाडौँमा ४६, कन्चनपुर ३९, भक्तपुर ३५, म्याग्दी ३५ र झापा ३२ जनामा डेङ्गुका बिरामी भेटिएका छन् ।

नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ ।

सम्भव भएसम्म लामखुट्टे भगाउने घुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपंक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web