संसदीय दलको नेता परिवर्तनमा प्रयास निरन्तर रहन्छ : महामन्त्री थापा

असार ३०, २०८० मा प्रकाशित | 588 views

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताउनुभएको छ । 
 
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले पार्टीका साथीहरुको साथ र सङ्ख्या पुगेको अवस्थामा संसदीय दलको नेता परिवर्तनका लागि सार्थक प्रयास हुने स्पष्ट पार्नुभयो । उहाँले पार्टीको विधानले संसदीय दलको नेता परिवर्तन गर्न स्थान दिएको र पार्टीभित्र पटकपटक प्रयोग हुनाका साथै नेता परिवर्तन भएको उदाहरण रहेको विचार व्यक्त गर्नुभयो । 
 
देशको आवश्यकताअनुसार आजको दिनमा आफू दलको नेता भएमा पार्टीलाई राम्रोसँग सञ्चालन गर्ने महामन्त्री थापाको भनाइ थियो । कोशी सरकार निर्माणका सम्बन्धमा सर्वोच्च अदालतको आदेशलाई पार्टीले स्वीकार गर्ने उहाँले बताउनुभयो । केन्द्रीय समितिको बैठक नबसेको कारण कोशी सरकार गठनका सम्बन्धमा खुल्ला छलफल गर्न नसकिएको उल्लेख गर्दै उहाँले यसबाट राष्ट्रिय राजनीतिका थुप्रै विषय प्रभावित पारेको धारणा राख्नुभयो ।
 
महामन्त्री थापाले केन्द्रीय समितिको बैठकले नीति महाधिवेशनको मिति तय गर्नाका साथै  नीति अधिवेशनले  निर्वाचनमा राजनीतिक दलहरुबीच गठबन्धन गर्ने राजनीतिक संस्कृतिको अन्त्य गर्नाका साथै नयाँ बाटो खोज्ने बताउनुभयो । वर्तमान गठबन्धन सरकार परिवर्तन नहुने जिकिर गर्दै उहाँले सरकारले जनताप्रति दत्तचित्त भई कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web