राजकीय सम्मानका साथ सीता दाहालको अन्त्येष्टि

असार २७, २०८० मा प्रकाशित | 239 views

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एवम् पार्टी सल्लाहकार सदस्य सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएकाे छ । प्रधानमन्त्री प्रचण्डकी पत्नी दाहालको बुधवार दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो ।

प्रधानमन्त्री प्रचण्डले सीताको पार्थिक शरीरमा दागबत्ती दिनुभएको छ । प्रधानमन्त्रीको साथमा उहाँका छोरीहरू रेणु र गङ्गा दाहालले सीताको पार्थिक शरीरमा दागबत्ती दिनुभएको हो ।

दाहालकाे पार्थिव शरीरमा नेपाल सरकारको तर्फबाट उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गर्नुभयो । त्यसलगत्तै नेपाली सेनाको एक टुकडीले शोक सलामी अर्पण गर्दै दाहालप्रति सम्मान प्रकट गरेको छ ।

आर्यघाटमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधान एवम् रक्षामन्त्री खड्का, स|स्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, श्रम रोजागर तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, सांसद, सचिव, कुटनीतिक नियोगका पदाधिकारी तथा शुभेच्छुक उपस्थित छन् ।

यसअघि आजै बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सीता दाहाललाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।

सीता दाहालको थापाथलीमा रहेकाे नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा आज बिहान निधन भएको हो । दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि पीडित हुनुहुन्थ्यो । उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web