चोकदे । नुवाकोटको सूर्यगढी गाँउपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागी ३८ करोड ५१ लाख रुपैयाँ हाराहारीको बजेट ल्याएको छ ।
गाँउपालिकाको अध्यक्ष सन्तबहादुर घलेले ल्याउनुभएको नीति तथा कार्यक्रममा केन्द्रित भएर उपाध्यक्ष मञ्जु बुढाथोकी (ढकाल)ले आगामी आर्थिक वर्षको लागी ३८ करोड ५१ लाख ४७ हजार ४४९ रुपैयाँ हराहारीको अनुमानित आयव्याय सहितको बजेट पेश गर्नुभएको हो ।
गाँउपालिकाको अध्यक्ष सन्तबहादुर घलेले पेश गरेको नीति तथा कार्यक्रम र सोही आधारमा उपाध्यक्ष मञ्जु बुढाथोकीले पेश गरेको आगामी आर्थिक वर्षको बजेट बिहीबार बसेको गाँउसभाले सर्वसम्मत रुपमा पारित गरेर कार्यान्वयनको लागी तयार भएको वडा नं .४ का वडाध्यक्ष एव गाउपालिकाको प्रवक्ता रामशरण राईले जानकारी दिनुभयो ।
उहाँको अनुसार चालु आर्थिक वर्षको बजेट ५१ करोड हाराहारीको रहेकोमा आगामी आर्थिक वर्षको लागी भने करीब १३ करोड कम बजेट ल्याइएको हो । बजेटको आकार घटनुमा चालु आर्थिक वर्षमा ठूलो आकारमा गिरावट आएको राजश्व, माथिल्लो निकायबाट प्राप्त हुने अनुदानमा आएको गिरावट, खर्च कटौती लगायतलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्षको लागी बजेटको आकार घटाएर ३८ करोड ५१ लाखमा झारिएको हो ।
बिनियोजन गरिएको बजेटमा आर्थिक विकासको लागी ९० लाख, सामाजिक विकासको लागी आठ करोड, पूर्वाधार विकासको लागी १५ करोड २६ लाख, वातावरण तथा विपद् व्यवस्थापनको लागी ३५ लाख र सँस्थागत विकास तथा सेवा प्रवाहको लागी १४ करोड रुपैयाँ बजेट उपाध्यक्ष मञ्जु ढकालले पेश गरे अनुसार गाँउसभाले सर्वसम्मत रुपमा पास गरेको हो ।

बजेट सगैँ उपाध्यक्ष मञ्जु ढकालले पेश गरेको बिनियोजन बिधेयक र आर्थिक बिधेयक समेत गाँउसभाले पास गर्दै आगामी आर्थिक वर्षको लागी नुवाकोटमा रहेका विभिन्न १२ पालिकाहरु मध्ये सूर्यगढी गाँउपालिकाले नीति तथा कार्यक्रम सहित बजेट पास गरेर कार्यान्वयनको लागी तयार गरेको हो ।
चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षको लागी केन्द्र र प्रदेस सरकारबाट आउने अनुदानको आकार घटेसगैँ आगामी आर्थिक वर्षको लागी बजेटको आकार घटाएर ल्याउन बाध्य भएको गाँउपालिका अध्यक्ष सन्तबहादुर घलेले बताउनुभयो । उहाँको अनुसार बजेटको आकार घटेसगैँ चालु आर्थिक वर्षबाट नै अत्यावश्यक बाहेकको खर्च कटौती सुरु गरेकाले आगामी आर्थिक वर्षको लागी जनताको सेवा प्रवाह, विकास निर्माण, पूर्ववत रुपमा नियमित सञ्चालनमा रहेका कार्यक्रम बाहेकलाई निरन्तरता दिने गरेर आगामी आर्थिक वर्षको लागी बजेट ल्याइएको हो ।
आगामी आर्थिक वर्षको लागी ल्याइएको बजेटमा संघ र प्रदेस सरकारबाट आउने बित्तीय समानिकरण, सशर्त अनुदान, राजश्व बाँडफाँट, सशर्त पुँजीगत, विशेष अनुदान, समपुरक अनुदानहरु सबै समावेश गरिएको छ भने गाँउपालिकाको आन्तरिक राजश्व ४० लाख रुपैयाँ अनुमान गरिएको छ । बिनियोजन गरिएको बजेट मध्ये चालु खर्चतर्फ २३ करोड३५ लाख रुपैयाँ र पुँजीगत खर्चतर्फ १५ करोड १५ लाख रुपैयाँ बजेट छुट्टाइएको छ ।

16.12¡ÆC