धादिङ । धादिङको थाक्रे गाँउपालिका वडा नं. ६ महादेववेशीमा ‘वित्तिय साक्षरता’ तथा समूहका अध्यक्षहरुको गोष्ठि सोमबार एक भव्य समारोहको बीच सम्पन्न भएको छ ।
नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था गोगनपानी शाखाको आयोजनामा उक्त शाखा मार्फत सञ्चाललित रहेका महिला समूहमा आबद्ध दिदीबहिनीहरुलाई लक्षित गर्दै वित्तिय साक्षरता तथा समुह अध्यक्ष गोष्ठि कार्यक्रम भएको हो ।
कार्यक्रममा संस्थाको संरचना, प्रगति विवरण, संस्थाको नीति, संचालन प्रक्रिया तथा समग्र लघुवित्तको सम्बन्धमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी (सिइओ) अधिकृत रामबहादुर यादबले जानकारी गराउनुभएको छ । सिइओ यादवले सहभागीलाई लघुवित्तबाट पैसा लिएर उद्यम तथा उत्पादन मुलक क्षेत्रमा खर्च गर्न सुझाव दिनुभयो ।
अहिले केही व्यक्तिहरुले अनावश्यक रुपमा ऋण मिनाहाको कुरा गरिरहेको भन्दै उक्त भनाई भ्रम रहेको उल्लेख गर्दै प्रमुख कार्यकारी अधिकृत यादबले व्यवसायका लागि भनेर लिएको पैसा अन्यन्त्र खर्च गर्दा हुने गरेको समस्याका बारेमा पनि जानकारी गराउनुभएको छ । उहाँले विभिन्न तालिम तथा उत्पादनमुलक काममा आफुहरु गाउँपालिका सँग सहकार्य गरेर अघि बढ्न तयार रहेको समेत प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा थाक्रे गाँउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष हिराबहादुर थापा (राजेन्द्र)ले सँस्थाका सदस्यहरुले पैसा लिएपछि तिर्नु पर्दैन भन्ने भ्रममा नपरी आफूले लिएको ऋण तोकिएको नियम अनुसार भुक्तानी गर्नको लागी सचेतना जगाउन सहभागी समूहका अध्यक्ष एंव प्रतिनिधिहरुलाई अनुरोध गुर्नभयो । अहिलेको आर्थिक संटकको समय भएकाले आम्दानीको श्रोत घटेको र ऋणमा ब्याजको दर भने बढेको यस्तो अवस्थामा सँस्थाहरुले सहयोग तथा सहुलियत भने दिनुपर्ने उहाँको भनाई छ । लघुवित्त लगायतका बैंक तथा वित्तिय सँस्थाबाट लिएको पैसाले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नको लागी उहाँले सुझाव दिनुभयो ।
कार्यक्रममा थाक्रे गाउँपालिकाका प्रवक्ता तथा कार्यपालिका सदस्य अमित कुमार घलेले महिलालाई स्वरोजगार तथा उद्यमी बनाउन गाउँपालिकाले विभिन्न योजनाहरु कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो । उहाँको अनुसार विभिन्न तालिम लगायतमा माइक्रोफाइनान्स वित्तिय सँस्थाहरुसँग सहकार्य तथा समन्वय गरेर अघि बढ्न पालिका सदैव सकारात्मक रहेको छ ।
यस्तै कार्यक्रममा लघुवित्त अन्तर्गत गठन भएको समुहका सदस्यहरुले सल्लाह, सुझावका साथै अनुभव पनि साटासाट गरेका छन् । कार्यक्रममा आफ्नो भनाई राख्दै समुह नम्बर १९ का ठुलीमाया तामाङले लघुवित्तका कारण आफ्नो जिवनयापनमा सहज भएको उल्लेख गर्दै लघुवित्तबाट पैसा जुन प्रयोजनका लागि लिएको हो सोहि कामका लागि लगानी गर्दा राम्रो भइरहेकाले उहाँले अरुलाई पनि उद्देष्य अनुसार ऋण लगानी गरेर आम्दानीको श्रोत बढाउनको लागी सुझाब दिनुभयो ।
यस्तै कार्यक्रममा सहभागी विन्दा सुनारले लघुवित्तबाट पैसा लिएपछि तिर्नुपर्ने भन्दै अनावश्यक हल्लाको कारण रिणीहरु नै पछि समस्यामा पर्ने बताउनुभयो ।
समुह नम्बर १ का अध्यक्ष निशा परिायारको अध्यक्षता र नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवको प्रमुख आतित्थ्यतामामा भएको कार्यक्रममा गोगनपानी शाखाका शाखा प्रमुख प्रतिमा ढकालले स्वागत मन्तव्य सहित कार्यक्रमको उदेश्यका बारेमा सहभागीलाई जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट समुहलाई प्रमाणपत्र तथा कदर पत्र प्रदान गरिएको छ । उत्कृष्ट बचत कर्ता सदस्यलाई कदर पत्र सँगै काम तथा समग्र मुल्याङ्कनको आधारमा प्रथम, दृतिय तथा तृतिय भएका समुहलाई प्रमाणपत्र प्रदान गरिएको हो ।
कार्यक्रममा प्रहरी चौकी महादेववेशीका प्रमुख रामहरी खड्का, नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाका वरिष्ठ अधिकृत मदन रिजाल, अनुगमन अधिकृत रामचन्द्र लोहनी लगायतको आतित्थ्यता र विभिन्न समुहका अध्यक्ष तथा प्रतिनिधि गरेर करीब एकसय जना नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको सदस्यहरुको सहभागिता रहेको थियो ।