नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ र राष्ट्रपति भण्डारीको बिदाइ आज

फाल्गुन २९, २०७९ मा प्रकाशित | 502 views

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्नुहुने भएको छ ।

आज दिउँसो १ बजे राष्ट्रपति कार्यालयमा विशेष समारोहकासाथ पौडेलले शपथ ग्रहण गर्ने कार्यक्रम छ।

संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुन अनुसार प्रधानन्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।

नवनिर्वाचित राष्ट्रपति पौडललाई कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनुहुने छ ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले शपथ लिएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले आज शीतल निवास छाड्नुहुने भएको छ ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले नयाँ राष्ट्रपतिको शपथ ग्रहणपछि राष्ट्रपति भण्डारी निजी निवास सर्ने कार्यक्रम तय भएको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले हिजो आफ्नो कार्यकालको अन्तिम दिन राष्ट्रपति भवन शीतल निवासमा शीर्ष राजनीतिक नेतृत्वसँग सामूहिक भेट गर्नुभएको छ ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रमुख राजनीतिक दलका प्रमुखहरूसँग राष्ट्रपति भण्डारीले सामूहिक भेटघाट र चियापान गर्नुभएको उहाँका प्रेस विज्ञ टीकाप्रसाद ढकालले जानकारी दिनुभयो ।

भेटघाटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत नेताहरू सहभागी थिए ।

त्यस अवसरमा राष्ट्रपति भण्डारीले आफ्नो कार्यकाल पूरा गर्न सहयोग गर्ने विभिन्न कार्यकालका प्रधानमन्त्रीहरू, राजनीतिक नेतृत्व र सम्बद्ध सबैलाई धन्यवाद दिनुभएको थियो भने शीर्ष नेताहरूले उहाँको कार्यकाल सफलतापूर्वक पूरा गर्नुभएकामा बधाई दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web