रसुवा । रसुवा, नुवाकोट र सिन्धुपाल्चोक समेत गरेर तीन जिल्लामा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्जले यो आर्थिक वर्षको ६ महिनामा करीब दुई करोड रुपैयाँ राजश्व संकलन भएको जनाएको छ ।
आर्थिक वर्ष २०७९÷०८० को साउनदेखि पुस मसान्तसम्म निकुञ्ज घुम्न पुगेका आन्तरिक तथा विदेशी पर्यटकबाट आएको राजश्व र दण्ड–जरिवाना लगायतका शिर्षकमा प्राप्त रकम समेत गरेर कुल एक करोड ७५ लाख रुपैयाँ सङ्कलन भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार यो ६ महिनाको अवधिमा घुम्न पुगेका आन्तरिक तथा विदेशी पर्यटकको सङ्ख्या १७ हजार ४३८ जना रहेका छन् । भने निकुञ्जको राजश्वको संकलनमा पर्यटक प्रवेश शुल्क सहित वन पैदावारको विक्री र चोरी–तस्कीरीबाट जरिवाना तथा क्षतिपूर्ति समेतलाई लिने गरिएको छ ।
नेपालको संघीय राजधानी काठमाडौँबाट सबैभन्दा नजिकैको लाङटाङ राष्ट्रिय निकुञ्ज पदयात्राका लागि तेस्रो गन्तव्यको रूपमा समेत लिने गरिएको छ । नेपालमा सगरमाथा राष्ट्रिय निकुञ्ज र अन्नपूर्ण संरक्षण क्षेत्र पछि निकुञ्ज घुम्न जाने पर्यटकको तेश्रो रोजाई लाङटाङ राष्ट्रिय निकुञ्ज रहेको छ ।
कोरोना रोगको जोखिमको कारण लगातार दुई वर्ष प्रभावित भएको पर्यटन क्षेत्रको प्रभावले निकुञ्ज पुग्ने पर्यटकको सङ्ख्या घटेको थियो भने रावश्व असुली समेत प्रभावित भएकोमा यो वर्ष भने सुधारको संकेत देखिएको छ ।
यो निकुञ्ज समुन्द्री सतहको एकहजार मिटर देखि ७ हजार २४५ मिटर सम्म फैलिएको छ भने जैविक विविधताको भण्डारण समेत मान्ने गरिएको छ ।
निकुञ्ज भित्र लाङटाङ उपत्यका, क्याङन्जिङ उपत्यका गोसाईंकुण्ड सहितका ताल शृङ्खला पर्यटकको रोजगाईमा पर्ने गरेको छ ।
यस्तै, दोर्जे लाक्पा पास, मेलम्ची ध्याङ, हेलम्बु, तार्के घ्याङ, ह्योल्मो आमा याङ्ग्रि, शेर्माथाङ, घ्याङफेदि, पाँचपोखरि लगायत यस निकुञ्जको प्रमुख पर्यटकीय आकर्षणहरू मानिएको छ ।
19.12¡ÆC