सूर्यमती माविको ६६औँ बार्षिकोत्सव तथा अभिभावक भेला

माघ ७, २०७९ मा प्रकाशित | 210 views

सूर्यमती माविको ६६औँ बार्षिकोत्सव तथा अभिभावक भेला

त्रिशूली । बेलकोटगढी नगरपालिकाले छिट्टै आफ्नै पाठ्यक्रम ल्याउने भएको छ ।

माघ ७ गते शनिबार बेलकोटगढी नगरपालिका वडा नं. १३ ढाँडफेदीमा रहेको सूर्यमती माध्यमिक विद्यालयको ६६औँ बार्षिकोत्सव तथा अभिभावक भेलालाई सम्बोधन गर्दै नगरप्रमुख जगतबहादुर गुरुङ र उपप्रमुख शिवप्रसाद दाहालले स्थानीय भाषा, सस्कृति, कला तथा समसामयिक विषयवस्तुमा विद्यार्थीलाई ज्ञान दिनको लागी अहिले कार्यान्वयनमा रहेको पाठ्यक्रममा सुधार गरेर नगरपालिकाले आफैले स्थानीय पाठ्यक्रम प्रकाशन गर्न लागेको जानकारी दिनुभएको हो ।

नगरप्रमुख जगतबहादुर गुरुङले शिक्षाको विकासबाट नै स्वास्थ्यको सुधार, सिप तथा क्षमता अभिबृद्धि गराउन सक्ने भएकाले शैक्षिक सुधार कार्यक्रम गठन गरेर कार्यान्वयनमा ल्याएको बताउनुभएको हो । बेलकोटगढी नगरपालिकाले यो आर्थिक वर्षदेखि ल्याएको शैक्षिक सुधार कार्यक्रम मार्फत स्थानीय पाठ्यक्रम जारी गर्ने, दरबन्दी व्यवस्थापन, भौतिक सुधार लगायतका कार्यक्रम सबै समावेश गरेर त्यसलाई कार्यान्वयनमा ल्याएर शिक्षा क्षेत्रको सुधारको लागी सबै विद्यालयलाई अब्बल बनाउन लागिएको नगरप्रमुख जगतबहादुर गुरुङले बताउनुभयो ।
कार्यक्रममा बेलकोटगढी नगरपालिकाको उपप्रमुख शिवप्रसाद दाहालले पछिल्लो समयमा नगरपभित्रको विद्यालयको शिक्षाको सुधारको संकेत देखिएपनि लक्ष्य अनुसारको प्रगति भने नभएकाले त्यसको लागी सरोकार राख्ने विद्यालय प्रशासन र अभिभावकबीचको सहकार्यले सफलता पाउन सकिने सुझाब दिनुभयो ।

बालबालिकालाई विद्यालयमा पठाउदैमा उनीहरु सक्षम र दक्ष नहुने भन्दै सूर्यमती माविमा बेलकोटगढी, लिखु र ककनी तीन पालिकाको विद्यार्थीहरु अध्ययनरत रहेकाले तीनवटै पालिकाको साझा सम्पत्तिको रुपमा रहेको विद्यालयमा सबैपक्षबाट सहयोग हुनुपर्ने उहाँले बताउनुभयो ।

सामुदायिक विद्यायलको सुधारको लागी स्थानीय सरकारको रुपमा पालिकादेखि अभिभावक र विद्यालय प्रशासनको साझेदारीबाट विद्यार्थीको गुणस्तर बृद्धिको लक्ष्य निर्धारण भएकाले त्यसअन्तरगत तत्कालै कुनै एक शिर्षकको दरबन्दी नगरपालिकाको तर्फबाट उपलब्ध गराएर बाँकी आवश्यक सहयोग निरन्तर थप हुने उपप्रमुख शिवप्रसाद दाहालले प्रतिबद्धता जनाउनुभएको छ । 

अहिले साढे तीनसय भन्दा बढी विद्यार्थी रहेको सूर्यमती मावि ढाडफेदीले शैक्षिक सुधार सहित आर्थिक अवस्थामा सुधार गरेर गुणस्तरीय शिक्षा प्रवाह गर्दै आएकाले क्याम्पस सञ्चालन गर्ने अबको लक्ष्य रहेको व्यवस्थापन समितिका अध्यक्ष बिनोद सेढाईले बताउनुभभयो ।

अहिले कक्षा १२ सम्म अध्यापन हुदै आएको विद्यालयमा थप उच्च शिक्षा अध्ययनको लागी बट्टार तथा काठमाडौ नै जानुपर्ने बाध्यता रहेकाले त्यसलाई अन्त्य गर्न घरमै बसेर उच्च शिक्षाको प्रबन्ध मिलाउन आगामी दिनमा क्याम्पस सञ्चालन गर्ने लक्ष्य लिएको व्यवस्थापन समितिका अध्यक्ष बिनोद सेढाईले बताउनुभयो ।

विद्यालयमा आज आयोजित ६६औँ बार्षिकोत्सव तथा अभिभाव भेलामा जिल्ला समन्वय समितिको सदस्य तथा सोही विद्यालयका व्यवस्थापन समितिको पूर्व अध्यक्ष सम्झना सेढाई, वडा नं. १३ को वडाध्यक्ष नवराज पाण्डे सहित शिक्षक, अभिभावक लगायतले मन्तव्य राख्दै लामो समयसम्म निकै समस्याग्रस्त अबस्थामा रहेको विद्यालयमा अहिले शैक्षिक, भौतिक तथा आर्थिक रुपमा निकै सुधार गरेकाले यस गतिलाई निरन्रत अघि बढाउनको लागी सरोकारवालापक्षहरुबीच सहकार्य कायम रहनुपर्ने सुझाब दिएका छन् ।

विद्यालयका प्रधानध्यापक राजाराम पाण्डेले विद्यालयको आर्थिक तथा बार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने सहायक प्रधानध्यापक तेजप्रसाद सेढाईले विद्यालयको गतिविधिको जानकारी दिदै विज्ञान प्रयोगशाला, पुस्तकालय, आइ.सि.टी प्रयोगशाला भएकाले अबको लक्ष्य कम रहेको शिक्षक दरबन्दीको बृद्धि र विद्यार्थीको लागी खेलकुदको लागी मैदान अर्थात विद्यालयको प्राङ्गण अपुग भएकाले जग्गा व्यवस्थापनतर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा विद्यालयको कक्षागत उत्कृष्ट भएका विद्यार्थी, विभिन्न प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थी, अनुशाशित तथा नियमित विद्यालयमा आउने विद्यार्थीलाई सम्मान गरिएको थियो भने विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web