मकवानपुर । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल नियुक्त हुनुभएको छ । बाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्मकट्टेललाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको छ । उहाँले मुख्यमन्त्रीको दाबी पेश गर्न प्रदेश प्रमुखबाट पाएको समयसीमा सकिनुभन्दा दुई घण्टाअघि ७० जना सांसदको हस्ताक्षरसहित दाबी पेश गर्नुभएको थियो ।
जम्मकट्टेललाई माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, राप्रपाका १३, नेकपा एकिकृत समाजवादीसहित ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसदको समर्थन रहेको छ । एक सय १० सदस्यीय प्रदेशसभा सदस्य रहेको बाग्मतीमा सरकार गठनका लागि ५६ सांसदको साथ भए पुग्छ ।
बाग्मतीमा गठबन्धनका तीन दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको गरी ६१ सिट छ । सरकारमा गठबन्धनका तीनवटै दलले दाबी गरेका थिए ।
गठबन्धनमा भएको सहमति अनुसार बाग्मतीको सभामुख राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र उपसभामुख एमालेले पाएको छ । बाग्मतीमा यसअघि एमालेबाट डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य र नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नु भएको थियो ।
अहिले नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल बाग्मती प्रदेशको चौँथो मुख्यमन्त्री बन्नु भएको छ ।
बागमति प्रदेशमा नेकपा एमाले र माओवादीले आलोपालो मुख्यमन्त्री पाउने भएपछि पहिलो चरणमा भने माओवादीले यसको नेतृत्व गर्ने सहमती भएको छ ।
25.12¡ÆC