काठमाडौँ । काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले निर्वाचन आयोगले तोकेको जरिबानाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएकाे छ । मङ्गलवार मेयर शाहले सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दिनुभएकाे हो ।
गएकाे वैशाख ३० गते सम्पन्न पालिका चुनावकाे खर्च ढिलो गरी बुझाएको भन्दै आयोगले मेयर शाहलगायतलाई जरिबाना तोकेको थियो । आयाेगकाे त्याे निर्णयविरुद्ध उहाँ सर्वाेच्च अदालत पुग्नुभएकाे हाे ।
आयोगले मेयर शाहलाई सात लाख ५० हजार रुपैयाँ जरिबाना तोकेको थियो । निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र चुनाव खर्चको विवरण पेस गर्नुपर्नेमा अन्तिम दिनमा सार्वजनिक बिदा परेकाले त्यसको भोलिपल्ट खर्च विवरण पेस गरेकाे उहाँले रिटमा दाबी गर्नुभएकाे छ ।
चुनावमा सात लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने भए पनि आफूले तीन लाख ९४ हजार चार सय ८९ रुपैयाँमात्र खर्च भएकाे विवरण आयोगमा बुझाएको मेयर शाहले बताउनुभएको छ ।
शाहले आफूले समयमै चुनाव खर्च विवरण बुझाउँदा पनि सात लाख ५० हजार रुपैयाँ जरिबाना तिर्न लगाउने, पालिका चुनावमा भाग लिने देशभरका एक लाख २३ हजार उम्मेदवारलाई एकमुस्ट जरिबाना गर्ने, छ महिनाभित्र नबुझाए छ वर्षसम्म कुनै चुनावमा भाग लिन नपाउने र निर्वाचित भए पदमुक्त हुने भनी आयोगले गरेको निर्णय बदर गर्न रिट निवेदनमा माग गर्नुभएको छ ।
25.12¡ÆC