निःशुल्क बाढिएको तारजालीको दुरुपयोग, डिभिजन कार्यालयले माग्न थाल्यो फिर्ता

पुस १६, २०७९ मा प्रकाशित | 866 views

त्रिशूली । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटले विपद् व्यवस्थापन तथा आकस्मिक कार्यको लागि निःशुल्क वितरण गरेको तारजाली आवश्यक ठाउँमा प्रयोग नगरिएका स्थानबाट फिर्ता ल्याउन थालेको छ । गत भदौ १६ देखि असोज २६ गतेसम्म डिभिजन कार्यालयमार्फत वितरण गरिएको तारजाली हालसम्म प्रयोग नभएका स्थानबाट फिर्ता ल्याउन थालिएको डिभिजन प्रमुख हरिप्रसाद गुरागाईले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिसँगको समन्वयनमा आपत्कालीन कार्यक्रमअन्तर्गत नदी तथा खोलाको कटान नियन्त्रण, घर–बस्ती तथा सामुदायिक संरचनाको जोखिम संरक्षण, सिँचाइ कुलो क्षति न्यूनीकरणको लागि जिल्लाभर सात सय ४४ थान तारजाली वितरण गरिएको थियो ।

उक्त तारजाली लगेको पन्ध्र दिनभित्र ढुङ्गा भरिसक्न जनाएको प्रतिबद्धता हालसम्म पूरा नभएपछि फिर्ता ल्याउन थालिएको हो । “बर्खाको समयमा आएको बाढी–पहिरोबाट पुग्ने क्षतिलाई तत्कालै नियन्त्रण तथा न्यूनीकरण गर्न तोकिएको स्थानमा सम्बन्धित लाभग्राहीबाट ढुङ्गा भरेर जोखिम रोक्नलाई तारजाली उपलब्ध गराइएको थियो”, डिभिजन प्रमुख गुरागाईले भन्नुभयो, “जोखिम औँल्याइएको स्थानमा रोकथाम नगरी तारजाली थन्काइएको तथा अनाश्यक क्षेत्रमा प्रयोग गर्न खोजिएपछि दुरुपयोग हुनबाट जोगाउन फिर्ता ल्याउन थालिएको छ ।”

फिर्ता ल्याइएको तारजाली विपद्को उच्च जोखिम भएका स्थानमा जोखिम न्यूनीकरणको लागि उपयोगमा ल्याउने योजना बनाइएको छ । डिभिजन कार्यालयले विपद् व्यवस्थापन तथा आकस्मिक कार्यको लागि अघिल्लो वर्षको मौजुदासहित यो चालु आर्थिक वर्षमा रु १८ लाख ९२ हजारमा खरिद गरेकोसमेत गरेर जिल्लाभरलाई सात सय ४४ थान तारजाली निःशुल्क वितरण गरेको थियो ।
रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web