त्रिशुली । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. १ आरुखर्कका किसान रामप्रसाद ढकालको ब्याउन नसकेको भैसीँको शल्यक्रिया अर्थात सिजरिन प्रविधि गरेर सुत्केरी गराइएको छ ।
नुवाकोटमा पशुचौपायको शल्यक्रिया गरेर सुत्केरी गराइएको यो पहिलो पटक भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटका पशु चिकित्सक डा.बब्लु ठाकुरले जानकारी दिनुभएो छ ।
उहाँको नेतृत्वमा रहेको प्राविधिक टोलीले ब्यथा लागेको एक सातासम्म ब्याउन नसकी पाठेघरको मुख बटारिएर छटपटाएको भैसीँको सोही गोठमा नै ‘शल्यक्रिया कक्ष’ बनाएर गरिएको शल्यक्रिया सफल भएसगैँ पशुपालक किसानको लागी निकै ठूलो सफलताको रुपमा लिइएको छ ।
सुत्केरी हुन समय पुगेको उक्त भैसीँ ब्यथा लागेको एक सातासम्म पनि ब्याउन नसकेपछि एकमात्र अन्तिम विकल्पको रुपमा रहेको शल्यक्रिया मार्फत पेट चिरेर पाडो निकालियो हो । पशु सेवा विज्ञ केन्द्रका डा.बब्लु ठाकुर सहितको प्राविधिक टोलीले माउको पेटमा नै मरिसकेको पाडो निकालेको हो । भैसीलाई पनि मानिसलाई गरिने जस्तै शल्यक्रिया अर्थात पेट चिरेर पेटभित्र मरेको पाडो निकालेर माउलाई बचाउन सफल भएको डा.बब्लु ठाकुरले जानकारी दिनुभएके छ ।
केन्द्र प्रमुख भरत पाण्डेको अनुसार नुवाकोटमा पशुचौपाय ब्याउन नसक्दा पाठेघरमा हात हालेर निकाल्ने गरेको भएपनि शल्यक्रिया गरेर सुत्केरी गराइएको यो पहिलो पटक र सफल समेत भएकाले उत्साह जगाएको बताउनुभएको छ ।
यसअघिका समयमा सुत्केरी हुन नसकी धेरै पशुचौपाय गुमाउनु परेको थियो । अब किसानको लागी पशुधनको सुरक्षा र कार्यालयको लागी सेवा प्रवाह मार्फत किसानको विश्वास जित्न मनोबल उच्च भएको केन्द्र प्रमुख भरत पाण्डेको भनाई रहेको छ ।

दरबन्दी र बजेट कटौतीले दुई जिल्ला नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भूमिका कमजोर बनिरहेको समयमा पशु चौपायको शल्यक्रिया सेवा समेत गर्नसक्ने दक्ष जनशक्ति सहितको सेवा प्रवाह गर्न सक्नुलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटको प्रगतिलाई निकै उत्कृष्ट मानिएको कार्यालय प्रमुख भरत पाण्डेले बताउनुभएको छ ।
मानिसहरुको लागी शल्यक्रिया गर्दा तोकिएको कक्ष हुने र त्याहाँ अन्य किसिमको जिवाणुबाट जोगाउन सकिने भएपनि पशुको लागी तोकिएको शल्यक्रिया कक्षसम्म लैजान नसक्ने भएकाले दक्ष चिकित्सकको क्षमताले गोठमा नै ‘शल्यक्रिया कक्ष’ खडा गरेर जीवाणुबाट सुरक्षित बनाउनुपर्ने चुनौतीको बीच सफल भएको शल्यक्रियाले केन्द्रलाई उत्साह र किसानको लागी खुसीको सन्देश प्रवाह भएको छ ।
गएको भदौदेखि नुवाकोटमा कार्यरत पशु चिकित्सक डा.बब्लु ठाकुरको नेतृत्वमा रहेको प्राविधिक टोलीले गरेको शल्यक्रियाको सफलताले नुवाकोट र रसुवाको किसानको लागी पुशधनको सुरक्षा र पशुपालन प्रतिको आकर्षण बढाउन सहयोग पुग्ने देखिएको छ ।
23.08¡ÆC