जसपाले सञ्चार माध्यमको स्वतन्त्रतामा प्रथामिकता दिने

कार्तिक २०, २०७९ मा प्रकाशित | 320 views

त्रिशूली । जनता समाजवादी पार्टी (जसपा) नेपालले मुलुकको सङ्घीय ढाँचाअनुरूप राष्ट्रिय सञ्चार प्रणालीको विकास र विस्तार गर्न ठोस नीति तथा कार्यक्रम तय गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
(जसपा) नेपालले आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी शनिबार प्रतिबद्धतापत्र सार्वजनिक गर्दै सञ्चारक्षेत्रमा निजी र सामुदायिक क्षेत्रको संलग्नतालाई बढावा दिने प्रतिबद्धता व्यक्त गरेको हो ।
जसपाले प्रकाशन र छापा माध्यमलाई जनता तथा राष्ट्रप्रति जिम्मेवार बनाउनुका साथै तिनीहरूको स्वतन्त्रताको प्रत्यभूति गर्दै रेडियो, टिभी, एफएम, टेलिफोन, इन्टरनेट, मोबाइलजस्ता विद्युतीय प्रविधिको गुणस्तरमा सुधार गर्न प्राथमिकता दिनुका साथै तिनीहरूलाई देशका सबै भू–भाग तथा आम जनताको पहुँचमा पु¥याउने प्रतिबद्धता गरेको छ ।
यसैगरी, विमानस्थल, अस्पताल, विद्यालय, प्रशासनिक केन्द्र, सभाभवन लगायतका स्थानमा निःशुल्क इन्टरनेट (फ्रि वाइफाइ) सुविधा उपलब्ध गराउने र जनताको सूचनाको हकको ग्यारेण्टी गर्ने, प्रेस स्वतन्त्रता प्रदान गर्ने र पीत पत्रकारितालाई निरूत्साहित गर्दै मर्यादित र जवाफदेही पत्रकारिताको विकास गर्ने (जसपा) नेपालले जारी गरेको प्रतिबद्धतापत्रमा भनिएको छ ।


पार्टीका अध्यक्ष उपेन्द्र यादवले घोषणापत्र सार्वजनिक कार्यक्रममा श्रमजीवी पत्रकार ऐनलाई प्रभावकारी कार्यान्वयन गर्ने, स्वतन्त्र र निष्पक्ष प्रेसको विकासमा सहयोग गर्ने तथा देशमा विद्यमान बहुल संस्कृतिको प्रवद्र्धन गर्न मातृभाषामा प्रचार–प्रसार गर्ने बताउनुभयो ।यस्तै, चलचित्र उद्योगको विकास र संवद्र्धन गर्न समयानुकूल राष्ट्रिय चलचित्र नीति निर्माण गर्ने र मातृभाषामा बनाइने चलचित्रका लागि विशेष सहुलियत दिने (जसपा) नेपालको नीति रहेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web