आगामी निर्वाचनको लागी नुवाकोटमा प्रत्यक्षतर्फको मतपत्र आइपुग्यो

कार्तिक २०, २०७९ मा प्रकाशित | 323 views

त्रिशूली । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत नुवाकोटलाई आवश्यक पर्ने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र शनिबार आइपुगेको छ ।

निर्वाचन आयोगले पठाएको मतपत्र नुवाकोट जिल्लाको दुईवटै निर्वाचन क्षेत्रमा आइपुगेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिनुभयो । उहाँको अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको लागी नुवाकोटमा पाँच लाख ३० हजार थान मत प्राप्त भएको हो ।
आयोगबाट प्राप्त मतपत्रमध्ये निर्वाचन क्षेत्रअनुसार निर्वाचन अधिकृतको कार्यालयमा रुजु गरेर ठिक पाइएसँगै भण्डारण गरिएको छ ।
निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत टेकराज भुसालका अनुसार उहाँको निर्वाचन क्षेत्रमा एक लाख २० हजार सात सय ५२ मतदाता रहेको स्थानमा प्रतिनिधिसभातर्फको प्रत्यक्ष निर्वाचन प्रणालीको लागी एक लाख ३३ हजार थान मतपत्र प्राप्त भएको छ ।

यस्तै प्रदेशसभा (क) मा ५९ हजार चार सय ५९ मतदाताका लागि ६६ हजार थान र प्रदेशसभा (ख) मा ६१ हजार दुई सय ९३ जना मतदाताका लागि ६८ हजार थान मतपत्र प्राप्त भएको छ । प्राप्त भएको मतपत्र रुजु गरेर ठिक पाइएसँगै लाहाछाप लगाइएको कोठामा सुरक्षा घेरामा भण्डारण गरिएको छ ।
यसैगरी, निर्वाचन क्षेत्र नं २ मा एक लाख १८ हजार नौ सय ७४ जना मतदाताका लागि प्रतिनिधिसभातर्फको प्रत्यक्ष तर्फ एक लाख ३१ हजार थान मतपत्र प्राप्त भएको सहायक निर्वाचन अधिकृत इन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा (क) मा ५९ हजार चार सय ५३ मतदाता र प्रदेशसभा (ख) मा ५९ हजार पाँच सय २१ मतदाताका लागि समान ६६–६६ हजार थान मतपत्र प्राप्त भएको छ । जिल्लामा आइपुगेको मतपत्र रुजु गरेर लाहाछाप लगाइएको कोठामा नेपाल प्रहरीको सुरक्षा घेरामा राखिएका छन् ।

नुवाकोटको लागी समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यही कात्तिक १ गते जिल्लामा आएकाले रुजु गरेर सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा भण्डारण गरिएको छ । नुवाकोट जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ ६३ र समानुपातिकतर्फ ६४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

कर्मचारी छनोटको काम सम्पन्न :

निर्वाचन कार्यक्रमअन्तर्गत मतदान केन्द्रमा खटाउनको लागी कर्मचारी छनोटको काम सम्पन्न भइसकेकाले अबको एक–दुई दिनमा नै खटिने कर्मचारीहरुको नामावली सार्वजनिक गर्न लागिएको छ । निर्वाचनको लागी मतदान अधिकृत, सहायक मतदान अधिकृत सहित सहायक र सहयोगी कर्मचारी निर्वाचन अधिकृतको कार्यालयले खटाउने लागेको हो ।

मतदान केन्द्रको लागी आवश्यकता अनुसारको स्वंय सेवक कर्मचारी भने मतदान अधिकृतले नै नियुक्त गर्न पाउने व्यवस्था रहेको छ ।
आम निर्वाचनका लागि नुवाकोट जिल्लाका दुईवटै निर्वाचन क्षेत्रमा दुई लाख ३९ हजार सात सय २६ मतदाता कायम छन् । निर्वाचनका लागि जिल्लाभरमा एक सय ३२ मतदानस्थलमा दुई सय ८८ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web