दल र उम्मेदवारलाई जथाभावी सम्पर्क कार्यालय नखोल्न चेतावनी

कार्तिक १९, २०७९ मा प्रकाशित | 322 views

त्रिशूली । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आयोगबाट तोकिएको मापदण्डका आधारमा सम्पर्क कार्यालय खोल्नको लागी निर्देशन जारी गरेको छ ।
आयोगले त्यसको लागि यसअघि सात बुँदे निर्देशन दिइसकेकाले त्यसका पालना गर्नको लागी दल र उम्मेदवारहरुलाई सचेत गराएको हो ।
आयोगको निर्देशनानुसार प्रतिनिधिसभा सदस्य निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेट्ने गरी बढीमा तीनवटा सम्पर्क कार्यालय खोल्न र प्रदेशसभा सदस्य निर्वाचन प्रणालीतर्फ प्रदेशसभा सदस्य पदको उम्मेदवारले एक सम्पर्क कार्यालय खोल्न सक्ने भनिएको छ ।

यस्तै, प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य समानुपातिकतर्फ बन्दसूचीमा उम्मेदवारी पेश गरेका दलले प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रमा एक सम्पर्क कार्यालय खोल्न सक्ने र सम्प्र्क कार्यालय स्थापना गर्दा सम्भव भएसम्म एउटै स्थान प्रयोग गर्न पनि आयोगले दिएको निर्देशनमा भनिएको छ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यतर्फ उम्मेदवारी दिई निर्वाचन चिन्ह प्राप्त गरिसकेपछि त्यस्ता उम्मेदवारले अन्य कुनै उम्मेदवारलाई समर्थन गरेको भएमा त्यस्ता उम्मेदवारले सम्पर्क कार्यालय स्थापना गर्न नपाउने र प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि घर भाडामा लिई सम्पर्क कार्यालय स्थापना गरेको भएमा त्यस्तो घरको घरभाडा उम्मेदवारको निर्वाचन खर्चमा समावेश गर्नुपर्ने आयोगको निर्देशनमा उल्लेख गरिएको छ ।

राजनीतिक दल वा उम्मेदवारले सम्पर्क कार्यालय स्थापना गरेको जानकारी निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा तुरुन्त उपलब्ध गराउनुपर्ने भनिएको छ ।

राजनीतिक दलसम्बन्धी ऐनमा आयोगले संविधान र प्रचलित कानुनको अधिनमा रही राजनीतिक दलले गर्ने काम कारबाही सञ्चालन गर्दा पालना गर्नुपर्ने विषयका सम्बन्धमा आयोगले आवश्यक निर्देशन दिन सक्ने भनिएको छ ।

त्यही अनुसार निर्देशन पालना गर्नु प्रत्येक दलको कर्तव्य हुने कानुनी व्यवस्था रहेको छ । निर्वाचन आचारसंहितामा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा सत्र दिनअघिदेखि अर्थात यही कात्तिक १७ गतेदेखि मात्रै निर्वाचन प्रचार–प्रसारसम्बन्धी जुलुस, आमसभा, कोणसभा गर्न, सञ्चारमाध्यममा कुनै प्रकारको प्रचार–प्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न पाइने व्यवस्था कायम गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web