नुवाकोटमा ६ पदमा प्रतिस्पर्धा गर्ने यी हुन ६६ जना उम्मेदवार

अशोज २४, २०७९ मा प्रकाशित
Published at 2022-10-10

320 views

रामहरि न्यौपाने,

त्रिशूली । आगामी मंसिर ४ गते हुन लागिरहेको आम निर्वाचनको लागी नुवाकोटको दुईवटा क्षेत्र रहेको प्रतिनिधिसभा तर्फ २९ जना र चारवटा क्षेत्र रहेको प्रदेस सभातर्फ ३७ जनाले आइतबार मनोनयन दर्ता गराएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको छ पदको लागी कुल ६६ जना उम्मेदवारले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिनुभयो ।

निर्वाचन क्षेत्र नं. १ को निर्वाचन अधिकृत टेकराज भुसालको अनुसार प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र नं. १ मा १८ जनाले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नं. १ को प्रदेस–१ तर्फ सातजना र प्रदेस–२ तर्फ दश जनाले मनोनयन दर्ता गराएका छन् । प्रतिनिधिसभातर्फ नुवाकोटको दुईवटै निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धन नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले साझा उम्मेदवार उठाएर मनोनयन दर्ता गराएका छन् ।
अन्य पाटी र स्वतन्त्र उम्मेदवार समेत गरेर कुल १८ जनाको मनोनयन दर्ता भएको सहायक निर्वाचन अधिकृत प्रयास भट्टराईले जानकारी दिनुभयो ।

क्षेत्र नं .१ को प्रतिनिधिसभामा १८ जना उम्मेदवार :
सत्तारुढ गठबन्धनको तर्फबाट क्षेत्र नं.१ मा निवर्तमान सांसद् तथा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य हितबहादुर तामाङ र नेकपा (एमाले)को तर्फबाट पाटीको जिल्ला अध्यक्ष एवम् निवर्तमान प्रदेस सांसद् बद्री मैनालीको उम्मेदवारी दर्ता भएको छ ।
सत्तारुढ गठबन्धनबाट यसअघिका सांसद् रहनुभएका तामाङ र एमालेको तर्फबाट यसअघि प्रदेस सांसद् रहनुभएका मैनालीले उम्मेदवारी दर्ता गराएसगैँ आगामी चुनावमा मुख्य प्रतिस्पर्धा उहाँहरुबीच हुने देखिएको हो ।

May be an image of 3 people and people standing
मनोनयन दर्ता गर्ने अन्य उम्मेदवारहरुमा राप्रपाबाट सुदर्शन सिटौला, नेपाल मजदुर किसान पाटीबाट रबिन्द्र डंगोल, नेकपा (माले)बाट केशव उप्रेती, राष्ट्रिय स्वतन्त्र पाटीबाट डा.प्रद्युम्न महत, मंगोल नेशनल अर्गनाइजेशनबाट सुरेन्द्र तामाङ, नेपाली काँग्रेस (बिपी)बाट श्यामबहादुर गुरुङ, लोकतान्त्रिक समाजवादी पाटीबाट लक्ष्मी रसाइली, राप्रपा नेपालबाट पुष्पा न्यौपाने, हाम्रो पाटी नेपालबाट सफलता बोगटी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट भुवन तामाङ, जन–समाजवादी पाटीबाट निमेश तामाङ र जनता समाजवादी पाटीबाट देवराज घिमिरे रहेका छन् । स्वतन्त्र रुपमा निर्मल लामिछाने, जितेन्द्रसिंह ठकुरी, सरोज गिरी र राजकुमार बस्नेतले मनोनयन दर्ता गराएका छन् । 

May be an image of 7 people, people standing and outdoors

क्षेत्र नं. १ को प्रदेस–१ मा सात जना उम्मेदवार :
निर्वाचन क्षेत्र नं.१ को प्रदेस–१ तर्फ सात जना उम्मेदवारले मनोनयन दर्ता गराएको सहायक निर्वाचन अधिकृत प्रयास भट्टराइले जानकारी दिनुभयो । उहाँको अनुसार सत्तारुढ गबठन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा माओवादी केन्द्रले बागमति प्रदेस सभाको निवर्तमान उपसभामुख तथा पूर्व कृषि विकास राज्य मन्त्री राधिका तामाङलाई उठाएको छ । नेकपा (एमाले)ले गत स्थानीयतहको निर्वाचनमा नेपाली काँग्रेस त्यागेर पाटी प्रवेश गरेका सुशील खड्कालाई उम्मेदवार बनाएको छ । मुख्य प्रतिस्पर्धा तामाङ र खड्काबीच हुने देखिन्छ ।
यस निर्वाचन क्षेत्रमा राप्रपाबाट रामु पण्डित, नेपाल मजदुर किसान पाटीबाट काशीलाल डंगोल, जनता समाजवादी पाटीबाट शेरबहादुर विक, मंगोल नेशनल अर्गनाइजेशनबाट कर्म तामाङ र नेकपा (एकीकृत समाजवादी)बाट राजेश थापाले मनोनयन दर्ता गराएका छन् ।

क्षेत्र नं .१ को प्रदेस–२ मा दश जनाको उम्मेदवारी :
निर्वाचन क्षेत्र नं .१ को प्रदेस–२ बाट दश जनाले मनोनयन दर्ता गराएका छन् । सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली काँग्रेसले पाटी जिल्ला सभापति रमेशकुमार महतलाई उठाएको छ भने नेकपा (एमाले)को तर्फबाट पूर्णलाल श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ ।
काँग्रेसबाट मनोनयन दर्ता गर्नुभएका महत यसअघि उक्त निर्वाचन क्षेत्रको प्रत्यासी उम्मेदवार हुनुहुन्थ्यो भने एमालेले नयाँ अनुहारका उम्मेदवार श्रेष्ठलाई उठाएको हो । मुख्य प्रतिस्पर्धा उहाँहरुबीच हुने देखिएको छ ।
अन्य उम्मेदवारहरुमा राप्रपाबाट बिमला थापा, मंगोल नेशनल अर्गनाइजेशनबाट दिपेश राई, राप्रपा नेपालबाट केदार पौडेल, नेशलिष्ट पिपुल्स पाटीबाट रमेश सुनार, हाम्रो नेपाली पाटीबाट दिपेश ढुङ्गाना, जनता समाजवादी पाटीबाट रामकृष्ण ढकालले मनोनयन गर्दा गराएका छन । उक्त प्रदेसको निर्वाचनमा नरहरी भेटुवाल र डोलबहादुर घलेले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

नुवाकोटको क्षेत्र नं. २ मा ११ जनाको उम्मेदवारी :
आगामी मंसिर ४ गते हुने निर्वाचनमा नुवाकोटको क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यमा ११ जनाले मनोनयन दर्ता गराएका छन् ।
सत्तारुढ गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा नेपाली काँग्रेसले अजुर्ननरसिंह केसीलाई उठाएको छ भने नेकपा (एमाले)ले नारायणप्रसाद खतिवडालाई उठाएको छ । यस निर्वाचन क्षेत्रमा काँग्रेसको केन्द्रीय सदस्य तथा पूर्वमन्त्री समेत रहनुभएका केसी र निवर्तमान सासद् समेत रहनुभएका एमाले बागमति प्रदेस कमिटी सदस्य रहनुभएका खतिवडाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।


अन्य उम्मेदवारहरुमा राप्रपाबाट झनक प्याकुरेल, राष्ट्रिय स्वतन्त्र पाटीबाट पर्यटन व्यवसायी सुमनविक्रम पाण्डे, नेपाल मजदुर किसान पाटीबाट गणेशमान बाटाकक्षी, लोकतान्त्रिक समाजवादी पाटीबाट धनकुमारी सुनार, मंगोल नेशनल अर्गनाइजेशनबाट प्रेममाया तामाङ, जनसमाजवादी पाटीबाट हिमाल जोशीले उम्मेदवारी दिएका छन् ।
स्वतन्त्र उम्मेदवारको रुपमा गायत्री दाहाल, सुदर्शन पुडासैनी र बिनोद कुमार तामाङको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिनुभयो ।

क्षेत्र नं. २ को प्रदेस–१ मा १३ जनाको उम्मेदवारी :
नुवाकोटको क्षेत्र नं. २ को प्रदेस–१ मा १३ जनाको उम्मेदवारी दर्ता भएको छ । सत्तारुढ दलहरुबीचको गठबन्धनले साझा उम्मेदवार उठाउने भनेपनि त्यसको अवज्ञा गर्दै गठबन्धनमा रहेका सबै दलले आ–आफ्नो पाटीबाट उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली काँग्रेसको तर्फबाट पाटीको महासमिति सदस्य समेत रहेको युवा नेता गिता अमात्य, नेकपा (एमाले)बाट पाटीको बागमति प्रदेस कमिटी अध्यक्ष तथा निवर्तमान प्रदेस सांसद् केशवराज पाण्डे, नेकपा माओवादी केन्द्रले पाटीको बागमति प्रदेस कमिटी उपाध्यक्ष तथा पुराना नेता रामप्रसाद ढुङ्गाना र नेकपा (एकीकृत समाजवादी)बाट पूर्व सांसद् राजेन्द्रप्रकाश लोहनीको उम्मेदवारी दर्ता गराएको छ । यी चार उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
अन्य उम्मेदवारहरुमा नेपाली काँग्रेस (विपी)बाट इश्वरी बोगटी, मंगोल नेशनल अर्गनाइजेशनबाट चन्द्र तामाङ, राप्रपाबाट दिपेश लामा, आमूल परिर्वतन मसिंहा पाटीबाट प्रेमबहादुर नेपाली, लोकतान्त्रिक समाजवादी पाटीबाट राजन विश्वकर्मा र नेपाल मजदुर किसान पाटीबाट श्याम लामाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिनुभयो । यस निर्वाचन क्षेत्रमा स्वतन्त्र रुपमा शम्भुप्रसाद पनेरु, भरत कुमाल र देवेन्द्र न्यौपानेले मनोनयन दर्ता गराएका छन् ।

क्षेत्र नं. २ को प्रदेस– २ मा सात जनाको उम्मेदवारी :
नुवाकोटको क्षेत्र नं. २ को प्रदेस–२ मा सात जनाको उम्मेदवारी परेको छ । सत्तारुढ दलहरुबीचको गठबन्धनले साझा उम्मेदवारी दिने भनेपनि क्षेत्र नं. २ को प्रदेस–२ मा पनि त्यसको अवज्ञा भएको छ । गठबन्धनमा रहेका दलले आ–आफ्नो पाटीबाट उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली काँग्रेसको तर्फबाट पाटीको केन्द्रीय सदस्य, सभाषद तथा निवर्तमान संघीय सांसद् बहादुरसिंह लामा (तामाङ), माओवादी केन्द्रबाट सभाषद् समेत रहनुभएका दिवंगत नेता पोष्टबहादुर बोगटीको जिवनसंगिनी राममाया बोगटी र नेकपा (एमाले)बाट बिजयसिंह लामा (तामाङ)को उम्मेदवारी परेको छ । मुख्य प्रतिस्पर्धा यी तीन उम्मेदवारबीच हुने देखिन्छ ।
अन्य उम्मेदवारहरुमा मंगोल नेशनल अर्गनाइजेशनबाट दिलमान तामाङ, राप्रपाबाट रणप्रसाद न्यौपाने र हाम्रो नेपाली पाटीबाट वसन्त सापकोटाको उम्मेदवारी परेको छ । नेपाली काँग्रेसको महासमिति सदस्य तथा नेपाल तरुण दलको जिल्ला अध्यक्ष समेत रहनुभएका सिंगराज लामाले स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका छन् ।

सत्तारुढ गठबन्धनमा समस्या :
केन्द्रीयतहदेखि जिल्लातहसम्म नै सत्तासाझेदारी दलबीच गठबन्धन गर्ने निर्णय भएपनि नुवाकोटको निर्वाचन क्षेत्र नं. २ अन्तरगत रहेका दुईवटै प्रदेसमा त्यसको अवज्ञा भएको छ । गठबन्धन कार्यदलको केन्द्रीय निर्णय अनुसार प्रदेस–१ नेकपा (एकीकृत समाजवादी) र प्रदेस–२ माओवादी केन्द्रको भागमा परेपनि काँग्रेस र माओवादी केन्द्रले दुवै निर्वाचन क्षेत्रमा पाटीको उम्मेदवार उठाएको छ ।
नेकपा एकीकृत समाजवादीले निर्वाचन क्षेत्र नं.१ को प्रदेस–१ मा उम्मेदवारी दिएसगैँ तीनवटै दलबाट गठबन्धन गर्ने निर्णयको अवज्ञा भएको हो । माओवादी केन्द्रका जिल्ला सहइञ्चार्ज हिरानाथ खतिवडाले केन्द्रीय तहमा भएको निर्णयको यथार्थ जानकारी तल्लोतहसम्म नपुग्दा समस्या देखिएको बताउनुभयो ।
“केन्द्रीय तहमा भएका निर्णयको जिल्ला पाटीले पालना गर्नुपर्छ” उहाँले भन्नुभयो “उम्मेदवारी दर्ता भएपनि मिलाउन सकिन्छ । गठबन्धन कायम गर्नुपर्छ ।” तर, मतदाता र कार्यकर्ताको भावना विपरित तथा पाटीको प्रभावको मुल्याङ्कन नगरी निर्णय हुदाँ समस्या देखिएको काँग्रेसका जिल्ला नेताहरुको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.