१५ चैत, काठमाडौं ।
राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले हिन्दु राष्ट्रको पक्षमा जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको बताउदै नयाँ घोषणा गरेका छन् । हिन्दूराष्ट्र नेपाल स्थापनार्थ सोमबार बुटवलमा आयोजित हिन्दूत्व जागरण बृहत आमसभालाई सम्बोधन गर्दै मन्त्री थापाले हिन्दू राष्ट्रको पक्षमा जस्तोसुकै आन्दोलन पनि गर्ने घोषणा गरेका हुन् ।
हिन्दु धर्मको पक्षमा जागरण अभियान चलाउँदै आएको राप्रपा नेपालले सोमबार बुटवलमा आयोजना गरेको धार्मिक सभालाई सम्बोधन गर्दै थापाले अलग पहिचान र फरक विचार लिएर सरकारमा सहभागी भएको राप्रपा नेपाल आफ्ना एजेण्डा स्थापित गर्न हिन्दु राष्ट्रको पक्षमा जस्तोसुकै आन्दोलन गर्नपनि तयार रहेको वताएका हुन्। थापाले हिन्दु धर्मको पक्षमा एकतावद्व हुन सबैलाई आह्वानसमेत गरे।
हिन्दुराष्ट्र स्थापित नहुँदासम्म आफ्नो पार्टी सदन र सडकबाट संघर्ष गरिरहने उनको भनाई छ। पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु धर्म, राजासहितको प्रजातन्त्र र संघीयताको विकल्पमा स्थानीय स्वायत्त शासन जस्ता एजेण्डाको पक्षमा राप्रपा नेपालले सदन र सडकबाट एकसाथ आवाज उठाईरहेको थापाले बताए।
पार्टीका मुद्दालाई संविधानले नसमेटेकाले आफ्नो दलले मात्रै संविधानको विपक्षमा मतदान गरी मुद्दा स्थापित गराउन जनतामाझ आएको स्पष्ट पारे । परराष्ट्रमन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण नेपाली जनताको पक्षमा भएको दाबी गरे। ‘चीन भ्रमणले नेपाल र चीनबीच आर्थिक विकास हुने आधार तयार पार्नुको साथै अब नयां ढंगले दुई देशबीच व्यापार बिस्तार हुने ढोकापनि खुलेको छ,’ उनको दाबी थियो। हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्र स्थापित गराएरै छाड्ने अठोट व्यक्त गर्दै हिन्दू राष्ट्र स्थापित नहुदाँसम्म आन्दोलवाट विश्राम नलिने समेत प्रष्ट पारे ।
‘थापाले भने बरु पर्यो भने सरकार छाडिन्छ तर, ९४ प्रतिशत नेपाली जनताको भावना, चुनाबमा जनताले हामीलाई दिएको म्यान्डेड, विश्वमा देखिएको हिन्दूत्वको जनमत अनि हाम्रो गौरबशाली पार्टी राप्रपा नेपालको मुल एजेन्डा हिन्दूराष्ट्र र संवैधानिक राजसंस्था जस्तो हाम्रा आत्मीय मुद्दालाइ हामी किमार्थ छोडदैनौ’ ।
22.58¡ÆC