त्रिशूली अस्पतालमा डेंगु रोगको परीक्षण निःशुल्क

भदौ २१, २०७९ मा प्रकाशित | 826 views

त्रिशूली । नुवाकोटको त्रिशूली अस्पतालमा दैनिक रुपमा नयाँ सक्रमित पहिचान हुनेदर बढेसगैँ डेंगु रोगको परीक्षण निःशुल्क बनाइएको छ । पछिल्लो समयमा माहामारीको रुपमा यस रोगको सक्रमण फैलिएसगैँ त्रिशूली अस्पतालले भोलि (बुधबार)देखि परीक्षण निःशुल्क गर्न लागेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.दिपेन्द्र पाण्डेले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार अस्पतालले डेंगु रोग नियन्त्रणमा सहयोग पुराउन अस्पतालको अग्रस्थानमा सहायता कक्ष समेत स्थापना गरेको छ । उक्त कक्षमा मेडिकल अधिकृत सहितको स्वास्थ्यकर्मीको टोलीबाट अस्पतालमा जाँच गर्न पुगेका बिरामीलाई यस रोग सम्बन्धि परीक्षण सहित सचेतना सन्देश समेत प्रवाह गर्ने व्यवस्था मिलाइएको छ ।
यसअघि अस्पतालको प्रयोगशालामा डेंगु रोगको परीक्षण गरे बापत ८५० रुपैयाँ शुल्क लिने गरेकोमा अबदेखि सहायता कक्ष र बहिरंग विभाग (ओपिडी) मार्फत सिफारिस भएका बिरामीको परीक्षण सेवा निःशुल्क गरिएको हो । त्रिशूली अस्पतलाले पिसिआर प्रयोगशाला स्थापना गरेदेखि नै कोरोना परीक्षण बापत लाग्ने शुल्क समेत निःशुल्क गर्दै आइरहेको छ ।


अहिले देशभर माहाहारीको रुपमा फैलिएको डेंगु रोग यस जिल्लामा हालसम्म २२ जना व्यक्तिमा पहिचान भएको छ भने यहाँका धेरै बिरामी परीक्षणका लागी काठमाडौ जाने भएकाले सक्रमितको सङ्ख्या सम्पर्क बाहिर अझै धेरै हुनसक्ने स्वास्थ्य कार्यालय नुवाकोटको अनुमान छ ।
पछिल्लो समयमा त्रिशूली अस्पतालमा जाँच गरउन पुग्ने मध्ये दैनिक २–३ जनामा सक्रमण पाइसगैँ परीक्षण शुल्क निःशुल्क गर्ने निर्णय गरेको अस्पतालका प्रमुख डा.पाण्डेले जानकारी दिनुभएको छ । डेंगु रोगको संक्रमण एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट फैलने भएकाले यसको टोकाईबाट सुरक्षित रहन अपिल गरिएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी कृष्ण रिजालको अनुसार यसको लक्षण ज्वरो आउने, आँखा रातो हुने तथा दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुने लगायतका रहेका छन् ।
डेंगु सक्रमित व्यक्तिको रक्तकोष घट्न गएर रोग प्रतिरोधात्मक क्षमता ह्रास भएर सिकिस्त बिरामी हुनेदेखि मृत्यु समेत हुनसक्ने भएकाले शंकास्पद लक्षण देखिने बित्तिकै परीक्षण गरेर सावधानी अपनाउन भनिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी रिजालले जानकारी दिनुभएको छ ।
त्यसको लागी शंकास्पद लक्षण भएका बिरामीलाई परीक्षण गराउन अनुरोध गरिएको छ । रोगबाट सुरक्षित हुन बाहुला भएको शरीर ढाक्ने कपडा लगाउने, सुत्ने समयमा झुलको प्रयोग गर्ने, लामखुट्टे भगाउने मलम लगाउने, घरको झ्यालबाट लामखुट्टे पस्न नसक्ने झाली लगाउने तथा लामखुट्टे बस्नसक्ने स्थानमा सरसफाई गरेर थप फैलन नदिन सचेत रहन आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web