१५ चैत, काठमाडौं ।
भर्खरै सम्पन्न १३ औं महाधिवशेनबाट नेपाली कांग्रेसको सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई टक्कर दिन पार्टीकै एक जना प्रभावशाली नेता तयार भएका छन् । महाधिवेशनपछि संसदीय दलको नेता छान्ने तरखरमा रहेको कांग्रेसमा देउवासँग भिडेर दुई पटक पराजित भएका रामचन्द्र पौडेल भने पछि हटेका छन् । पौडेलको ठाउँमा निर्वाचित केन्द्रीय सदस्य एवं निवर्तमान महामन्त्री प्रकाशमान सिंहले देउवालाई टक्कर दिन मैदानमा उत्रिने तयारी गरेका हुन् ।
गणेशमान पुत्र सिंह आगामी २४ गते हुने संसदीय दलको निर्वाचनमा देउवासँग भिड्न तयार भएको कांग्रेस स्रोतले जनाएको छ । सभापतिमा हारेका रामचन्द्र पौडेललाई सर्वसम्मत संसदीय दलको नेता बनाउन गरेको प्रस्ताव देउवाले अस्वीकार गरेपछि सिंह अघि बढ्न लागेका हुन् ।
स्रोतका अनुसार सोमबार पौडेल निवास बोहोराटारमा बसेको बैठकले प्रकाशमान सिंहलाई संसदीय दलको नेतामा चुनाव लडाउने गरी छलफल भएको र देउवाबिरुद्ध चुनावी मैदानमा आउने लगभग तय भएको छ ।
देउवासँग दुईपटक पराजित भएका पौडेललाई संसदीय दलको नेतामा चुनाव नलड्न उनी निकटका नेताहरुले सुझाव दिएपछि पौडेल पछि हटेका छन् ।
बहुमत देउवाको पक्षमा, असन्तुष्ट फकाउँदै पौडेल समूह
संसदीय दलमा देउवासँग भिड्न तयार भएपनि प्रकाशमान सिंहसँग बहुमत भने अहिले देखिँदैन् । देउवाभन्दा पौडेल समूह कमजोर छ । जसका कारण देउवालाई जित्न त्यती सजिलो छैन् ।
तर कांग्रेसभित्र ठूलो प्रभाव पार्ने नेता खुमबहादुर खडका र कुलबहादुर गुरुङ अहिले सभापति देउवासँग असन्तुष्ट छन् । महाधिबेशन अगाडि गरेको (गुरुङलाई वरिष्ठ नेता, खडकालाई उपसभापति दिने) बाचा देउवाले पुरा नगरी वास्ता नै गर्न छाडेपछि असन्तुष्ट बनेका यी दुई नेतालाई पौडेल समूहले फकाउने प्रयास गरिरहेका छन् । यी दुई नेताले पौडेल समूहलाई सहयोग गरे सिंह संसदीय दलको नेता बन्न सक्छन् ।
– dainiknepal.com
17.61¡ÆC