दल दर्ताका लागि ८४ दलको निवेदन, एकै चुनाव चिह्नबाट लड्न १२ दलको चार संयुक्त निवेदन

भदौ १, २०७९ मा प्रकाशित | 422 views

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ८४ दलले दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगका अनुसार ८० दलको एकल र एकै चुनाव चिह्नबाट लड्न चार संयुक्त निवेदनसहित ८४ दलको निवेदन परेको छ ।

आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले निवेदनमाथि छानबिन गरी दल दर्ताको मान्यता दिइने बताए । ‘एकै चुनाव चिह्नबाट लड्न चार संयुक्त निवेदनसहित ८४ दलले आयोगमा निवेदन दिएका छन्,’ उनले भने, ‘निवेदनमाथि छानबिन गरी आयोगले दल दर्ताको मान्यता दिनेछ ।’

आयोगले संघीय एवं प्रदेश निर्वाचनमा भाग लिन २२ देखि ३१ साउनसम्म दल दर्ताका लागि आह्वान गरेको थियो । आयोगले प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेश सभा सदस्यको हकमा प्रदेशगत रूपमा सातवटा प्रदेशका लागि छुट्टाछुट्टै निवेदन पेस गर्नुपर्ने व्यवस्था गरेको थियो ।

आयोगले दुई वा सोभन्दा बढी दलले एकै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने दललाई समेत दर्ताको आह्वान गरेको थियो । आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम दुई वा सोभन्दा बढी दलले एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताको निवेदन आह्वान गरेको थियो ।

०७४ को प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि ९५ राजनीतिक दलले दर्ताको निवेदन दिएका थिए, जसमध्ये आयोगबाट ९१ राजनीतिक दलले मान्यता पाएका थिए । त्यस्तै, समानुपातिकतर्फ ५५ राजनीतिक दलले निवेदन पेस गरेकोमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ४९ दलले मात्र उम्मेदवारको बन्दसूची पेस गरेका थिए । हाल संसद्मा प्रतिनिधित्व गर्नेमा प्रत्यक्षतर्फबाट नौ दल र एक स्वतन्त्र सांसद रहेका छन् । त्यस्तै, समानुपातिकतर्फ पाँच दलको प्रतिनिधित्व रहेको छ ।

गत वैशाखमा भएको स्थानीय निर्वाचन प्रयोजनका लागि ७९ दल दर्ता भएका थिए । त्यसमध्ये निर्वाचनमा भाग लिएका दल ६५ थिए भने हाल स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलको संख्या २४ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web