आज विश्व हेपाटाइटिसविरुद्धको दिवस मनाइँदै

साउन १२, २०७९ मा प्रकाशित | 710 views

काठमाडौ । आज विश्व हेपाटाइटिसविरुद्धको दिवस मनाइँदैछ। हरेक वर्ष जुलाई २८ तारिखलाई हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । यसवर्षको नारा ‘हेपाटाइटिसविरुद्धको उपचारमा अब म पर्खिन्न’ भन्ने रहेको छ ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको तथ्याङ्क अनुसार हेपाटाइटिस ‘बी’ र ‘सी’ बाट ग्रसित १० जनामध्ये ९ जना यो रोगबारे अनविज्ञ रहने गरेका छन् । एचआईभी एड्स, मलेरिया, क्षयरोग जस्तै हेपाटाइटिस पनि ज्यान लिने रोग हो । बोलीचालीको भाषामा हेपाटाइटिसलाई ‘जण्डिस’ पनि भन्ने गरिन्छ।

सामान्यतया, हेपाटाइटिस ए, बी, सी, डी र ई गरी पाँच प्रकारका हुन्छन् । घातक मानिने हेपाटाइटिस ‘बी’ र ‘सी’ का कारण हरेक वर्ष १३ लाख मानिसको ज्यान जाने गरेको तथ्याङ्क छ । भाइरस वा ब्याक्टेरियाका कारण हुने हेपाटाइटिसले गम्भीर समस्या निम्त्याउन सक्छ । हेपाइटाइटिस दुई तरिकाको हुन्छ ।

हेपाटाइटिसको सुरुको अवस्थालाई एक्यूट भनिन्छ भने पुरानो समस्यालाई क्रोनिक भनिन्छ । हेपाटाइटिसको प्रारम्भिक अवस्था सुरुको तीन महिनासम्म रहन्छ । यसको ६ महिनासम्म पनि उपचार नभएमा यसले क्रोनिक हेपाटाइटिसको रुप लिने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ।

सुरुवाती अवस्थामा शरीर पहेँलो हुन थालेमा त्यसको सही ढङ्गले उपचार नभएमा त्यसले क्रोनिक रुप लिन थाल्ने डाक्टरको भनाइ छ । यसका कारण कलेजोको क्यान्सर समेत हुन सक्छ । ज्वरो आउनु, वाकवाकी लाग्नु, जिउ दुख्नु, शरीर पहेलो हुनु, पेट दुख्नुलगायत यसका लक्षण हुन्।

पानी, असुरक्षित शारिरिक सम्बन्धलगायतका कारण यो रोग एकबाट अर्को मानिसमा सजिलै सर्ने गर्छ । हेपाटाईटिस ‘ए’ र ‘ई’ पानी तथा दूषित खानेकुराका कारण सर्ने गर्छ । रगत जाँच गरेर तथा लक्षण पहिचान गरेर पनि हेपाटाइटिस भए/नभएको थाहा पाउन सकिन्छ।

पानी उमालेर पिउन, असुरक्षित यौन सम्बन्ध नराख्न, गर्भावस्थामा गर्भवतीले डाक्टरको सल्लाह लिन र हेपाटाइटिस विरुद्धको खोप लगाउन तथा बच्चालाई पनि हेपाटाइटिस विरुद्धको खोप लगाउन डाक्टरको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web