कांग्रेसमा भ्रातृ र शुभेच्छुक संस्था थपिने

असार २६, २०७९ मा प्रकाशित | 518 views

काठमाडौँ । नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छक संस्थाको संख्या बढ्ने भएको छ । शुभेच्छुक तथा भ्रातृ संस्था हुनका लागि आवदेन दिएका विभिन्न संस्थालाई मान्यता दिने पदाधिकारी सहितको बैठकले निर्णय गरेको छ ।

हाल कायम १४ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्थामा ११ वटा थपिने र केही गाभिने केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिए । साउदका अनुसार केही भ्रातृ संस्था र शुभेच्छुक संस्था थपिने भएपनि कुल संख्यामा भने यकिन भएको छैन ।

‘अहिले कायम रहेका केही भ्रातृ संस्था आदिवासी जनजाति संघमा समायोजन हुन्छन् ।’ नेता साउदले भने,‘संवैधानिक क्लष्टर अनुुसार भ्रातृ संस्थाहरु थप्ने र गाभ्ने निर्णय भएको छ ।’ संवैधानिक व्यवस्था अनुसारका आठवटा क्लष्टरको व्यवस्था गरिएको छ । मुस्लिम, मधेसी, थारु, महिला, आदिवासी जनजाति, खस आर्य, पिछडिएको क्षेत्र र दलित गरी आठ क्लष्टर छ ।

भ्रातृ तथा शुभेच्छुक संस्थाको मान्यता पाउनका लागि २७ वटा संस्थाले आवदेन दिएका थिए । प्राप्त आवेदनका आधारमा भ्रातृ तथा शुभेच्छुक संस्था थप्ने र गाभ्ने निर्णयलाई केन्द्रीय समितिको बैठकमा प्रस्ताव पेश गरिने भएको छ ।

सोमबार देखि सुरु हुने केन्द्रीय समितिको बैठकले भ्रातृ तथा शुभेच्छुक संस्था थप्ने र मान्यता दिने निर्णय गर्ने पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । व्यवसायिक रुपमा सक्रियलाई संस्थालाई शुभेच्छुक संस्थाको मान्यता दिइने भएको छ ।

नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, किसान संघ, दलित संघ, आदिवासी जनजाति संघ, जनसम्पर्क समिति, भूतपूर्व सैनिक संघ, प्रजातन्त्र सेनानी संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ संघ, मुस्लिम संघ, तामाङ संघ, मगर संघ, ठाकुर समाजलाई हाल भ्रातृ संस्थाको रुपमा हाल क्रियाशील छन् ।

नेपाल प्रेस युनियन, नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल सांस्कृतिक संघ, नेपाल गैरसरकारी लोकतान्त्रिक संस्था महासंघ, नेपाल लोकतान्त्रिक शेर्पा संघ, नेपाल कुमाल संघ, डेमोक्रेटिक लयर्स एसोसिएसन, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स लगायत कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा मान्यता पाएर सञ्चालित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web