काठमाडौँ । सरकारको व्यवस्थापकीय कमजोरीका कारण कोरोना भाइरसविरुद्धको १० लाख डोज भन्दा बढी खोप खेर जाने अवस्थामा पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति व्यवस्थापन महाशाखाको तथ्यांक अनुसार साउनको पहिलो साता कोभिसिल्डको १० लाख ७९ मात्रा खोपको म्याद गुज्रिदैछ ।
सरकारले कोभ्याक्स सुविधामार्फत मंसिरमा १८ लाख ७१ हजार र पुसमा १८ लाख ७० हजार कोभिसिल्ड खोप प्राप्त गरेको थियो । समयमा लगाउन नसक्दा सोही खोपमध्येको १० लाख भन्दा बढी खोप म्याद गुज्रिएर खेर जान लागेको हो ।
ती खोपको अवधि अब करिब १५ दिन भए पनि खोप अभियान सुस्त भएकाले धेरैजसो खोप प्रयोगमा नआउने आपूर्ति व्यवस्थापन महाशाखाका एक कर्मचारी बताउँछन् ।
साउनको पहिलो हप्तासम्म ती खोप प्रयोग गरिसक्न दैनिक ७१ हजार २६६ जनाले खोप लगाउनुपर्छ । जबकि अहिले कोभिसिल्ड खोप लगाउनेको दैनिक संख्या दुईदेखि तीन हजारसम्म मात्र छ । खोप लगाउने दर घटिरहेकाले अब यो खोप खपत हुनेमा महाशाखाका अधिकारीहरु विश्वस्त छैनन् ।
‘स्थानीय तहका अन्य धेरै कार्यक्रम भएकाले कोरोना खोपलाई मात्रै प्राथमिकतामा राख्न नसकिने बताउँदै आएका छन्’, ती अधिकारीले भने, ‘हामीले खोपको म्याद सकिन लागेकाले कभरेज बढाउन ताकेता गर्दै आएका छौं । तर, स्थानीय तहका कर्मचारी संवेदनशील भएको देखिँदैन ।’
हाल देशका अधिकांश क्षेत्रमा कोरोना भाइरसको खोप स्थानीय तहमार्फत लगाइएको छ । धेरैले पहिलो र दोस्रो चरणको खोप लगाएको र बुस्टरमा कोभिशिल्ड भन्दा अन्य खोप नै रोजाइमा रहेकाले यसको खपत हुन नसकेको हो । हाल अधिकांश मानिसले बुस्टर डोजका रुपमा फाइजर खोप लगाइरहेका छन् । वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार हालसम्म १८ बर्षभन्दा माथिका ३२ प्रतिशत मानिसले बुस्टर डोज पाएका छन् ।
‘एस्ट्राजेनिका खोप म्याद कम भएकाले त्यसको बढी खपत गरेका थियौं । पछि कोरोनाको संक्रमण कम भएसँगै खोप लगाउने मानिसको संख्या पनि कम भयो । अहिले कोभिसिल्डको ठूलो मात्रा रहेकाले खपत गर्न चुनौती थपिएको छ’, थापाले भने ।
22.74¡ÆC