गठबन्धन अझै पनि आवश्यक छ : अध्यक्ष नेपाल

असार ११, २०७९ मा प्रकाशित | 478 views

काठमाडौँ । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले गठबन्धनप्रति गुनासो भएपनि त्यसको आवश्यक भएको बताएका छन् । केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केन्द्रीय सदस्यहरुलाई प्रदेशगत रुपमा चुनावी आकलन प्रस्तुत गर्न निर्देशन दिए ।

‘अब हामीले हामी कति स्थानमा जित्न सक्छौं भन्ने आकलन गरेर सबै प्रदेशका कमरेडले भन्नु होला,’ उनले भने, ‘गठबन्धनप्रति हाम्रो धेरै गुनासा भएपनि गठबन्धनको अझै पनि आवश्यकता छ।’

स्थानीय तहको चुनावमा २७ प्रतिशत मात्रै उम्मेदवारी दिँदा ९ लाख मत प्राप्त गरेको भन्दै शतप्रतिशत क्षेत्रमा उम्मेदवारी दिएको भए २० लाख मत आउने बताए । ‘त्यसकारण आत्तिनु पर्ने कारण छैन,’ नेपालले भने ।

शनिबारबाट बबरमहलस्थित कार्की बैंक्वेटमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन् । दुई दिनसम्म चल्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी कार्ययोजना, वर्तमान संगठनात्मक अवस्था तथा त्यसका सम्भावना, निर्वाचनमुखी कार्ययोजनाका विषयमा छलफल गरिने पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । ‘पार्टी स्थापना भएको करिब आठ महिनाको अवधिमा देशव्यापीरूपमा भएका सांगठनिक विस्तार, राजनीतिक गतिविधि, जनसरोकारका विविध कार्य, जनतासँग भएका अन्तक्रियाका साथै प्राप्त भएका राजनीतिक उपलब्धिका बारे समीक्षा हुनेछ,’ खतिवडाले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web