त्रिशूली । आगामी आर्थिक वर्षको लागी करीब १ अर्ब १३ करोड रुपैयाँ हारहारीको बजेटको तयारीमा रहेको विदुर नगरपालिका ४९ करोड रुपैयाँ घाटा देखिएको छ ।
नुवाकोटको विदुर नगरपालिकाले नीति तथा कार्यक्रम ल्याउनुअघि आज जारी गरिएको श्वेतपत्रमा अघिल्लो नगरप्रमुख सञ्जु पण्डितले बजेटको आकार भन्दा ४९ करोड रुपैयाँ बढी बजेट घोषण गरेर नगरपालिकालाई आर्थिक रुपमा कमजोर बनाएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन बमोजिम असार १० गतेभित्र स्थानीय सरकारका नीति तथा कार्यक्रम नगरसभामा पेश गरिसक्नुपर्ने प्रावधान रहेकामा त्यसभन्दा अघि नवनिर्वाचित नेतृत्वले अघिल्लो नेतृत्वबाट भएको समग्र गतिविधिको जानकारीसहितको स्वेतपत्र आज नगरप्रमुख राजन श्रेष्ठले जारी गर्दै अघिल्लो नगरप्रमुख सञ्जु पण्डितले राजनीतिक बेइमानी गर्दै नगरलाई एक वर्षको विकास बजेटले समेत धान्न नसक्ने गरेर आर्थिक रुपमा कमजोर बनाएको तथ्याङ्क सार्वजनिक गर्नुभएको छ ।
आज जारी गरिएको श्वेतपत्रअनुसार नगरपालिकाको कुल बजेट १ अर्ब ४१ करोड ३६ लाख ९६ हजार २०० रुपैयाँ रहेकामा जेठ मसान्तसम्म ९२ करोड ४७ लाख १० हजार ५६५ रुपैयाँमात्रै आम्दानी भएको देखिएको छ । आम्दानी भन्दा बजेट ठूलो बनाउँदा ठूलो रकम भुक्तानी हुन नसकेको श्वेतपत्रमा उल्लेख गरिएको छ ।
नगरपालिकासँग हालसम्म ५७ करोड ७५ लाख रुपैयाँ दायित्व रहेको श्वेतपत्रमा उल्लेख गरिएको छ । मेयर राजन श्रेष्ठले जारी गरेको श्वेतपत्रमा अघिल्लो स्थानीय सरकारले स्रोतको सुनिश्चितता नभई बोलपत्र आह्वान गरी ठेक्कापट्टा गरेको, स्रोतले धान्नै नसक्ने गरी कर्मचारी भर्ना गरेको, पटक पटक रकमान्तर गरिएको, बजेटलाई ढिक्कामा राखेर तोक आदेशको आधारमा थुप्रै योजना बाँडिएको, खर्चमा मितव्ययिता अपनाउन नसकेको, नीतिअनुसार काम नगरेको जस्ता आरोप लगाइएको छ ।
श्वेतपत्र जारी गर्दै नगरप्रमुख राजन श्रेष्ठले अहिलेको नेतृत्वले कार्यभार सम्हाल्दाका बखतको सम्पूर्ण अवस्थाका बारेमा श्वेतपत्रमार्फत समयमानै जानकारी गराउदै नगरलाई अहिलेको समयमा योजना तथा कार्यक्रमको ठूलो अपेक्षा नराख्न अनुरोध गर्नुभएको छ । आर्थिक रुपमा कमजोर बनाइएको नगरपालिकालाई अघिल्लो नेतृत्वले गरेको बदमासीको पहिचान गर्दै त्यस्तो समस्या तथा बेइमानी अहिलेको कार्यकालमा हुन नदिने प्रतबद्धता नगरप्रमुख राजन श्रेष्ठले जनाउनुभएको छ ।
श्वेतपत्र जारी गर्न आयोजित पत्रकार सम्मेलनमा नगर उपप्रमुख प्रभा बोगटीले अबको जनप्रतिनिधिको आगामी लक्ष्य र प्रतिबद्धता नगरप्रमुखले उल्लेख गरेर अनुसार पारदर्शी र इमान्दार सेवा प्रवाहसंग जोडिने विश्वास दिलाउनुभएको छ ।
त्यस क्रममा नगरपालिकाले तिर्नुपर्ने बाँकी नियमसंगत रकम तथा दायित्वलाई आन्तरिक स्रोतले धान्न नसकेमा संघीय तथा प्रादेशिक सरकारसँग समेत समन्वय गर्ने, आयोजनाहरुलाई प्राथमिकताका आधारमा निरन्तरता दिने, पुरा नभएका योजनाहरुलाई पूरा गर्ने, भुक्तानी हुन नसकेका उपभोक्ता समितिको रकम आम्दानी भएसँगै क्रमैसँग भुक्तानी दिने, कर्मचारी संगठनलाई छरितो बनाउने, भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अबलम्बन गर्ने प्रतिबद्धता जनाइएको नगर उपप्रमुख प्रभा बोगटीले बताउनुभएको छ ।
श्वेतपत्रका आफूहरुको प्रतिबद्धता र लक्ष्यलाई आगामी नीति तथा कार्यक्रममा पनि समावेश गर्न लागिएको छ ।
नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने तय भएको जानकारी दिँदै बजेट चुस्त र प्रभावकारी बनाउनु नै अबको जनप्रतिनिधिको मुख्य जिम्मेवारी हुने नगर उपप्रमुख प्रभा बोगटीले बताउनुभएको छ ।