स्थानीयतह निर्वाचन नुवाकोटको दुप्चेश्वरमा माओवादी केन्द्र बलियो, यो छ कारण

बैशाख १९, २०७९ मा प्रकाशित | 592 views

त्रिशूली । आगामी स्थानीयतहको निर्वाचन लागी नुवाकोटका १२ वटै स्थानीयतहमा उम्मेदवारी दिएका उम्मेदवारहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । नेपाली काँग्रेस दुप्चेश्वर गाँउपालिकाले आफ्नो घरदैलो अभियानलाई तिव्रता दिएको छ । घरदैलो अभियान अन्तरगत पछिल्लो समयमा घ्याङफेदी, शिखरबेशी, राउतबेशी लगायतका स्थानमा सहभागी भएर आफ्नो पार्टीलाई बिजयी गराउनको लागी आग्रह गरिएको नेपाली काँग्रेस दुप्चेश्वर गाँउपालिकाका अध्यक्षका उम्मेदवार पूर्णबहादुर तामाङले जानकारी दिनुभएको छ ।
घरदैलो कार्यक्रममा नेपाली काँग्रेसले नुवाकोटको विकासको लागी गरेको योगदानको प्रशंसा गर्दै गाँउपालिकाको विकासको लागी नेपाली काँग्रेसलाई मतदान गरी विजयी गराउनको लागी आग्रह गरिएको अध्यक्षका उम्मेदवार तामाङले आग्रह गर्नुभएको छ । कार्यक्रममा नेपाली काँगेसको गाँउकार्यसमितिका पदाधिकारी सहितको सहभागिता रहेको थियो ।


यस्तै, नेकपा एमाले दुप्चेश्वर गाँउपालिका उम्मेदवारहरुले पालिकाको बिभिन्न स्थानमा घरदैलो कार्यक्रम जारी राखेका छन् । घरदैलो कार्यक्रमको लागी आइतबार वडा नं. ५ बालकुमारीमा पुग्नुभएका नेकपा एमालेका उम्मेदवार योविन्द्रसिंह तामाङले यसअघि आफू फरक राजनीतिक दलको नेता भएपनि गाँउपालिकाको समुन्नत विकासको लागी इमान्दारपूर्वक भूमिका निर्वाह गरेको भन्दै यो पटक नेकपा एमालेको उम्मेदवारको रुपमा निर्वाचनमा सहभागी भएकाले आफ्नो पार्टीका उम्मेदवारलाई बिजयी गराउनको लागी मतदाता समक्ष आग्रह गर्नुभएको छ ।
साथै, घरदैलो कार्यक्रममा आफनो आकर्षक घोषणा पत्र, एजेण्डा, तथा भावी कार्य योजना लिएर मतदातासंग सहयोगको आग्रह गरेको यसअघि काँग्रेस र अहिले नेकपा एमालेमा प्रवेश गरेर अध्यक्षमा उम्मेदवार भएका योविन्द्रसिंह तामाङले जानकारी दिनुभएको छ ।

यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार शंकरबहादुर थापा र माकुरी तामाङ पनि दुप्चेश्वर गाँउपालिकाको विभिन्न स्थानमा चुनावीसभा र घरदैलो गर्दै मतादाताहरुलाई बैशाख ३० गते हुन लागेको चुनावमा आफ्नो पाटीका उम्मेदवारलाई बिजयी गराउनको लागी आह्वान गर्नुभएको छ ।
यसअघि भएको चुनावमा नेकपा माओवादी केन्द्रले थोरै मतले पराजित भएकाले त्यसपछि पनि निरन्तर जनताको सेवामा आफ्नो पाटी सक्रियताको साथ लागेकाले यो पटक भने पालिकाको अध्यक्षमा शंकरबहादुर थापा, उपाध्यक्षमा माकुरी तामाङ सहित सातवटै वडामा नेकपा माओवादीका उम्मेदवारलाई बिजयी गराउनको लागी उहाँहरुले अपिल गरेका छन् ।

May be an image of 9 people and text
यसअघिको स्थानीयतहको चुनावमा अध्यक्षमा योविन्द्रसिंह तामाङ नेपाली काँग्रेसबाट तीन हजार ७१४ मतको साथ बिजयी हुनुभएको थियो भने नेकपा माओवादी केन्द्रको उम्मेदवारले ३ हजार २९४ र नेकपा एमालेका उम्मेदवारले २ हजार २४१ मत ल्याएको थियो ।

पालिका अध्यक्ष जित्नुभएका योविन्द्रसिंह तामाङले काँग्रेस छाडेर एमाले तिर लागेसगैँ काँग्रेसको संगठन चुनावीमा संघारमा कमजोर बनेको छ भने नेकपा एमालेमा पनि यसअघिका अध्यक्ष सुरज शेर्पालाई बनाउने भनेर अन्तिम समयमा योविन्द्रसिंह तामाङलाई बनाएको र पाटी पनि विभाजन भएसगैँ कमजोर देखिएको छ ।
नेकपा माओवादी केन्द्रले भने चुनावमा पराजित भएपछि पनि निरन्तर सक्रिय रुपमा लागिरहेको, शीर्ष नेताहरु राधिका तामाङ, हितबहादुर तामाङको सक्रियता समेत दुप्चेश्वरमा पहिलो प्रथामिकतामा पर्ने भएकाले नेकपा माओवादी केन्द्रले अन्य पाटीको तुलनामा आफूलाई बलियो पाटीको रुपमा दाबी गर्दै आइरहेको छ । पछिल्लो समयमा संगठन विस्तारलाई बजबुद बनाएको राष्ट्रिय प्रजातन्त्र पाटीले पनि आफ्नो पक्षमा मत ल्याउनको लागी देखाएको सक्रियता र उम्मेदवारहरुको प्रचारले मुख्य तीन दलको नतिजाको समिकरण परिवर्तन हुने देखिएको छ ।

नुवाकोटका १२ वटै स्थानीयतहमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा लगायतका दलका उम्मेदवारले घरदैलो तथा मतदाता माझ पुगेर मत माग्न र चुनावमा सहभागी हुन निमन्त्रणा गर्न व्यस्त रहेका छन् । त्यसमध्ये दुप्चेश्वर गाँउपालिकाको चुनावी मुखमा उम्मेदवार परिवर्तन र तीन पाटीबीच बलियो प्रतिस्पर्धा र नयाँ शक्तिको रुपमा उदाउने अनुमान गरिएको राप्रापले आफ्नो पक्षमा मत लिदा दुप्चेश्वर गाँउपालिकामा यो पटकको चुनावको नतिजा रोचक हुने देखिएको छ ।
उम्मेदवारहरु मतदाताहरु मार्फत बिजयी तथा अनुमोदन भएर जनप्रतिनिधि बन्नको लागी आफ्नो पक्षमा मत तान्न आकर्षक घोषणा पत्र, एजेण्डा, तथा भावी कार्य योजना लिएर मतदातासंग सहयोगको आग्रह गर्दै आइरहदाँ मतदाताहरुले अहिलै नै कसलाई मत दिने भनेर निर्णय भने गर्न बाँकी नै रहेको पाइन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web