
तनहुँ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय सँस्थाको शाखा कार्यालय घाँसीकुवा तनहुको आयोजनामा सँस्थामा आबद्ध किसानहरुलाई तरकारी खेती सम्बन्धि दुईदिने तालीम प्रदान गरिएको छ ।
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय सँस्थामा आबद्ध भएका ३५ जना किसानलाई बैशाख ११ र १२ गते दुई दिनसम्म तनहुँको डुम्रेमा तरकारी खेती सम्बन्धि तालीम प्रदान गरिएको शाखा प्रमुख समीक्षा लामिछानेले जानकारी दिनुभयो । उहाँको अनुसार कृषि प्राविधिक संजित चौधरी मार्फत सहभागी किसान सदस्यहरुलाई उनीहरुले गर्दै आएको परम्परागत तथा निर्वाहमूखी खेती प्रणालीलाई आधुनिकीकरण एंव व्यवसायीकरणतर्फ उन्मुख गराउन तरकारी तथा बालीखेती सम्बन्धि प्रयोगात्मक रुपमा तालीम एंव प्रशिक्षक दिइएको हो ।
कृषि पेशामा आबद्ध रहदै आएका विभिन्न समूहबाट छनोट भएका किसानलाई माटो परीक्षण तथा छनोट, विरुवाको नर्सरी राख्ने तरिका, मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि जानकारी, तरकारीमा लाग्ने रोगको पहिचान सहित त्यसको निराकरण गर्ने जैविक तथा विषादीको प्रयोग, मौसमी तथा बेमौसमी खेती र त्यसको लागी टनेलको निर्माण गरेर गर्न सकिने तरकारी खेती र त्यसको लागी आवश्यक प्रारम्भिक ज्ञान सिकाइएको छ । किसानले उत्पादन गरेका तरकारी तथा फलफूल सहितको कृषि सामाग्रिको सुरक्षित संकलन, ग्रेडिङ, भण्डारण एवम् बजारिकरण सम्बन्धि जानकारी दिइएको छ ।
तालीम समापनको अवसरमा आयोजित कार्यक्रमको प्रमुख अतिथी नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय सँस्थाको अनुगमन अधिकृत मदन रिजालले सँस्थाको समूहमा आबद्ध किसानहरुको कृषि कर्मप्रतिको क्षमता बृद्धि, सिप प्रबद्धन सहित आम्दानीको श्रोत बढाउन सदस्यको माग अनुसार सबै शाखा कार्यालय मार्फत तालीम तथा प्रशिक्षण सञ्चालनमा ल्याइएको छ । उहाँको अनुसार ग्रामीण क्षेत्रका किसान तथा न्यूनपुजि लगानी गरेर ब्यवसाय गर्दै आएका व्यक्तिहरुको जिवनस्तर सुधार गर्न नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय सँस्थाले देशका विभिन्न स्थानमा रहेका शाखा कार्यालय मार्फत आर्थिक लगानी सहित उनीहरुलाई आवश्यकता अनुसार तालीम तथा सिप प्रबद्धन गर्दै आइरहेको छ ।
सैद्धान्तिक र प्रयोगात्मक रुपमा सिकाइने तालिमबाट किसानलाई खेतीप्रतिको आकर्षित गर्न, कृषि खेतीलाई निरन्तरता सहित क्षेत्र विस्तार गरेर कृषिलाई मूल पेशा बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।
सँस्था मार्फत सञ्चालन गरिने तालिममा सहभागी किसानले यसअघि लागत मूल्य अनुसार उत्पादन लिन सक्ने अबस्था नभएको गुनासो गर्दै आएकोमा छोटो अवधिको दुईदिने तालीम पश्चात कृषि कर्म गर्दै आएका किसानलाई पेशा प्रतिको आकर्षण बढाउन र शिक्षित युवाहरुलाई समेत कृषिमा संलग्न गराउन सकारात्मक सन्देश पुगेको छ ।
धादिङवेशीमा मुख्य कार्यालय रहेको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय सँस्थाको सातवटै प्रदेशमा एकसय भन्दाबढी शाखा कार्यालय सञ्चालनमा रहेका छन् । घासीकुवा शाखाले आफ्नो कार्यक्षेत्र भित्रको एक हजार भन्दाबढी सदस्यलाई सेवा उपलब्ध गराउदै आएको शाखा प्रमुख समीक्षा लामिछानेले जानकारी दिनुभयो । उहाँको अनुसार घाँसीकुवा शाखा मार्फत तनहुँको ब्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाँउपालिका सहित गोरखाको पालुङटार नगरपालिका र आबुखैरेनी गाँउपालिका लगायतका स्थानमा सेवा दिदै आइरहेको छ ।
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय सँस्थामा आबद्ध भएका सदस्यहरुको लागी बचत गर्न र कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालनको लागी कर्जा प्रवाह मार्फत आर्थिक कारोबारलाई सरल बनाएको छ । ग्रामीण क्षेत्रम रहेका आर्थिक अबस्था कमजोर भएका किसान तथा पुँजी अभावले उद्यम गर्न नसकेकाहरुको लागी आर्थिक अबस्था सहित जिविकोपार्जनमा उल्लेख्य सुधार गराउन नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय सँस्थाको योगदान महत्वपूर्ण रहेको छ ।