नेशनल माइक्रोफाइनान्स मार्फत किसानलाई तरकारी खेती तालिम प्रदान

बैशाख ५, २०७९ मा प्रकाशित
Published at 2022-04-18

239 views

गल्छी । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय सँस्था, शाखा कार्यालय गोगनपानीको आयोजनामा किसानहरुलाई तरकारी खेतीसम्बन्धि दुईदिने तालीम दिइएको छ ।
नेशनल माइक्रोफाइनान्स लघुवित्तमा आबद्ध भएका विभिन्न समूहबाट छानिएका ३० जना किसानहरुलाई बैशाख ४ र ५ गते दुई दिनसम्म तरकारी खेती सम्बन्धि बीज रोपणदेखि उत्पादन पश्चात बजारीकरणसम्मको जानकारी दिइएको शाखा प्रमुख विष्णुमाया श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँको अनुसार कृषि प्राविधिक संजित चौधरीले सहभागी किसानहरुलाई विरुवाको नर्सरी राख्ने तरिका, मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि जानकारी, तरकारीमा लाग्ने रोग र किराको पहिचान र त्यसको निराकरण गर्ने जैविक तथा विषादी सम्बन्धि प्रयोगको जानकारी, मौसम प्रतिकुलतामा पनि टनेलको निर्माण गरेर गर्न सकिने तरकारी खेती र त्यसको लागी आवश्यक प्रारम्भिक ज्ञान, उत्पादन भएका तरकारीको संकलन तथा भण्डारण एवम् सुरक्षित रुपमा बजारसम्म पुराउन सिकाइएको छ । सैद्धान्तिक र प्रयोगात्मक रुपमा दिइएको तालिमबाट किसानहरुले पराम्परागत रुपमा गर्दै आएको तरकारी तथा बालीखेतीलाई व्यवसायिक तथा आधुनिकीकरण र यान्त्रिकरणतर्फ लम्कनको जानकारी प्राप्त भएको बताएका छन् ।
तालीममा सहभागी भएका किसानहरुले यसअघि लागत मूल्य अनुसारको प्रतिफल पाउन कठिन परेको अबस्थामा छोटो अवधिको तालीमबाटै तरकारी खेती सम्बन्धिको जानकारी लिन पाउदाँ मनोबल उच्च भएको बताएका छन् । तालीम समापनको अवसरमा आयोजित कार्यक्रमको प्रमुख अतिथी नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय सँस्थाको अनुगमन अधिकृत मदन रिजालले सँस्थामा आबद्ध भएका किसान र व्यवसायीको क्षमता बृद्धि, सिप प्रबद्धन सहित आम्दानीको श्रोत बृद्धिको लागी समूहका सदस्यको माग अनुसार सबै शाखा मार्फत तालीम तथा प्रशिक्षण चलाउदै आएको जानकारी दिनुभयो ।
उहाँको अनुसार ग्रामीण क्षेत्रका किसान तथा न्यूनपुँजि लगानी गरेर ब्यवसाय गर्दै आएका व्यक्तिहरुको जिवनस्तर सुधार गर्न नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय सँस्थाले देशका विभिन्न स्थानमा रहेका शाखा कार्यालय मार्फत आर्थिक लगानी सहित उनीहरुलाई आवश्यकता अनुसार तालीम तथा सिप प्रबद्धन गर्दै आएको छ ।

No description available.

धादिङवेशीमा मुख्य कार्यालय रहेको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय सँस्थाको सातवटै प्रदेशमा एकसय भन्दाबढी शाखा कार्यालय सञ्चालनमा रहेका छन् । विसंं २०७३ भदौमा स्थापना भएको गोगनपानी शाखाले एक हजार चारसय भन्दाबढी सदस्यलाई सेवा प्रवाहको क्रममा १२ करोड ५० लाख रुपैयाँ भन्दाबढी कर्जा लगानी गरेको शाखा प्रमुख विष्णुमाया श्रेष्ठले जानकारी दिनुभयो । उहाँको अनुसार गोगनपानी शाखा मार्फत धादिङको गल्छी गाँउपालिका, थाक्रे गाँउपालिका, धुनीवेशीँ नगरपालिका, नुवाकोटको बेलकोटगढी नगरपालिका लगायतमा सेवा दिदै आइरहेको छ । उक्त सँस्थाले नुवाकोटमा किस्पाङ गाँउपालिकाको काहुले र ककनी गाँउपालिकाको ओखरपौवामा रहेको शाखा कार्यालयले आसपासमा सेवा दिदै आइरहेको छ ।
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय सँस्था मार्फत विपन्न तथा न्यूनआय भएका व्यक्ति र महिलाहरूलाई सदस्य बनाएर बचत संकलन गरेको रकम र विभिन्न बैंक तथा वित्तीय संस्थासंगको सहकार्यमा सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न बिना धितो लघु कर्जा तथा स्वीकारयोग्य धितो लिएर लघु उद्यम तथा लघु व्यवसाय सञ्चालनको लागी धितो कर्जा प्रवाह गदै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.