सामाजिक सञ्जालमा दल र उम्मेदवारले मात्र प्रचार गर्न पाउने

चैत्र २५, २०७८ मा प्रकाशित | 771 views

काठमाडौँ । निर्वाचन प्रचारप्रसारमा सीमित समूहको मात्रै प्रतिनिधित्व हुनेगरी निर्वाचन आयोगले आचारसंहिता जारी गरेको छ ।

आयोगले शुक्रबार मध्यरातदेखि लागु हुने गरी निर्णय गरेको आचारसंहिता अनुसार निर्वाचनमा दल वा उम्मेदवारले मात्र आफ्नो आधिकारिक सामाजिक सञ्जालमा प्रचारप्रसार गर्न पाउने बताएको छ ।

आचारसंहिता लागु भएकोबारे जानकारी दिन शुक्रबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई प्रतिकूल असर पार्ने विचार राख्न र सामग्री प्रचारप्रसार गर्न रोक लगाइएको बताए ।

सामाजिक सञ्जालको दुरुपयोग रोक्न खोजिएको भन्दै उनले सदुपयोग गर्दा आयोगले प्रोत्साहन नै गर्ने प्रतिक्रिया दिए । ‘सामाजिक सञ्जालको प्रयोगबाट निर्वाचन प्रचार प्रसारमा आयोगको कुनै आपत्ति छैन । आयोगले घोषणापत्र, नीति र अन्य धारणाहरु सामाजिक सञ्जालबाट प्रचारप्रसार हुने कुरामा प्रोत्साहन नै गर्छ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘निर्वाचनलाई प्रतिकूल असर पर्ने सामग्री र गतिविधि नहोस् भन्ने हाम्रो चिन्ता हो ।’

अब कुनै दल वा उम्मेदवारले आफ्नो आधिकारिक पेजमा प्रचार गर्न पाउनेछन् । तर समर्थन तथा शुभेच्छुकले प्रचार वा शेयर गर्न पाउने छैनन् । विज्ञापनका रूपमा पनि सामाजिक सञ्जालमा प्रचार गर्न पाइने छैन । चुनाव प्रचारका लागि अरुले उत्पादन गरेका सामग्री शेयर गर्न समेत नहुने आचारसंहितामा उल्लेख छ ।

आयोगको विज्ञप्तिमा भनिएको छ, ‘कुनै राजनीतिक दल वा उम्मेदवारले आफ्नो निजी वा आधिकारिक पेजमा आफ्नो सिद्धान्त, विचार, प्रतिबद्धता र कार्ययोजना राखी प्रचार प्रसार गर्न सकिने नै हुँदा सामाजिक सञ्जालको उपयोगलाई मर्यादित र व्यवस्थित ढंगले परिचालन गर्न आयोग आग्रह गर्दछ ।’

विचार तथा अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने अधिवक्ता टंक अर्यालका अनुसार आयोगले जारी गरेका आचारसंहिताका कतिपय प्रावधान नियन्त्रणमुखी छन् । निर्वाचन हुनुभन्दा ३५ दिन अघिदेखि सामाजिक सञ्जालमा छलफल र बहस गर्न निषेध गरेर आयोगले बन्देजात्मक सोच अघि बढाएको उनको आरोप छ ।

‘हामीले पाँच वर्षको अवधिमा दल र जनप्रतिनिधिले गरेका कामकारबाहीको समीक्षा, बहस र अन्तरक्रिया गर्न पाउनुपर्छ । गुणदोषका आधारमा खुला छलफल हुनुपर्छ’, उनले भने, ‘आयोगले स्वच्छ छलफल र अन्तरक्रियालाई बढावा दिनुभन्दा पनि निरुत्साहित गर्न ज्यादा जोड दिएको देखिन्छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने सामाजिक सञ्जालको प्रयोगमा आयोगले प्रवर्द्धन नै गरेको दाबी गरे ।

उनले दलहरुको नीति, कार्यक्रम, उमेद्वारको विचार तथा अन्य विषयहरु सामाजिक सञ्जालमा प्रचारप्रसार गर्न कुनै रोक नलगाइएको दावी पनि गरे ।

‘सबैभन्दा धेरै सामाजिक सञ्जालकै उपयोग गरौं । दुरुपयोग पो नगरौं भनेको हो’, उनले भने, ‘त्यसमा ठूलो लगानी गरेर दुरुपयोग नगरौं भनेको हो । सही ठाउँमा प्रयोग गरौं भन्ने हाम्रो आग्रह छ । निर्वाचन आयोग केही कुरामा पनि कडिकडाउ छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web