काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले निर्वाचन जितेमा १२ कक्षा सम्मको अध्ययनलाई पूर्ण रुपमा नि:शुल्क बनाउने र भ्रष्टाचारमुक्त नेपाल बनाउने बताएका छन । शुक्रबार राप्रपाले काठमाडौंमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई मत दिनु देशलाई बर्बाद बनाउनु भएको बताए ।
प्रमुख पार्टीहरुले पटक–पटक मौका पाउँदा पनि जनताले सम्झनेगरी केही काम गर्न नसकेको भन्दै उनले ति पार्टीहरुलाई मत दिएर देश बर्बाद पार्ने काममा सहभागी नहुन जनताहरुलाई आग्रह गरे । उनले भने ‘हामीलाई अब समय छैन । हामीलाई पर्खने समय छैन । कुनैपनि पार्टी, कुनैपनि नेताले पटक–पटक मौका पाउँदाखेरी पनि जनताले सम्झनेगरी एउटा कुरा छोडेर जान सक्दैन ।
जनतामा आशा जगाउँदैन भने त्यसैलाई फेरी साथ दिइराख्नु भनेको त्यो गल्ती काममा आफुपनि सहभागी हुनु हो । देश बिगार्ने काममा आफुपनि सहभागी हुनु हो । म कांग्रेस, एमाले, माओवादीको आलोचना गर्न चाहान्न । तपाईहरुलाई बुझाउनका लागि मात्रै ति पार्टीहरुको नाम लिन चाहान्छु । अब कांग्रेस, एमाले माओवादीलाई कति हेरेपछि यो देश बन्छ होला त ? तिनका पार्टीका प्रधानमन्त्रीलाई कतिपटक प्रधानमन्त्री र कति पटक म्याद थप गरिदियो भने यो देश बन्छ होला त ? अब यिनै पार्टी र यिनै नेतालाई भोट दिएर देश बन्छ भन्नु भनेको यो देश बर्बाद गर्ने काममा सहभागी हुनु हो । यत्रो मौका पाउँदाखेरी देखाएनन् । अब फेरी देखाउँछन् कि भन्ने भुल गर्नु हुँदैन ।’
अध्यक्ष लिङ्देनले देश प्रमुख राजनीतिक दलको अघोषित गठबन्धनको शिकार भएको बताए । उनले २०४६ सालपछिको देश पूर्ण रुपले बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको उल्लेख गरे ।
अध्यक्ष लिङ्देनले बैंकमा पैसाको अभाव भएको उल्लेख गर्दै पैसा काला व्यापारीहरु र विगत ३१ वर्षदेखि देशमा शासन गर्ने नेताहरुको घरमा थन्किएको आरोप लगाए । उनले जनतालाई प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा कैद गरेर र झुक्याएर शासन गरिएको बताए । उनले विद्यमान पार्टीहरुलाई मत दिएर यो देश बन्छ भन्नु र साढेको टाङ मुनि बाल्टी थापेर दुधको आशा गर्नु उस्तै भएको टिप्पणी गरे । उनले तिनै तहको निर्वाचनमा प्रमुख पार्टीको बाकस खालि गरिदिन आव्हान समेत गरे ।
23.12¡ÆC