कार्यकर्तालाई जिम्मेवारी दिएर कांग्रेसले चुनावी प्रचारमा खटाउने

फाल्गुन २४, २०७८ मा प्रकाशित | 396 views

काठमाडौँ । नेपाली कांग्रेसले कार्यकर्तालाई भूमिकासहित चुनावी प्रचारमा खटाउने भएको छ ।

वैशाख ३० मा हुने स्थानीय निर्वाचन लक्षित गरेर पद प्राप्त गरेका तथा गौण भूमिकामा रहेका कार्यकर्तालाई उचित जिम्मेवारीसहित कांग्रेसले फागुन २९ देखि एक महिने अभियान गर्ने जनाएको छ । ‘हरेक काँधलाई भारि, हरेक हातलाई जिम्मेवारी’ को नीतिसहित सबै कार्यकर्तालाई उचित जिम्मेवारी दिएर पार्टीको काममा खटाउने निर्णय गरिएको छ ।

पार्टी अभियानको तयारीको लागि बसेको अन्तिम बैठकले कार्यकर्ताको जिम्मेवारी बाँडफाँड गरेर स्थानीय निर्वाचनमा वृहत्तर रुपमा परिचालन गर्ने निर्णय गरेको छ। नेपाली कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि जनता सामू विस्तारित रूपमा प्रचार अभियानमा राखिने भएको छ। अघिल्लो सरकारको समयमा भएका असंवैधानिक कदम र भ्रष्टाचार प्रकरणलाई जनताको बीचमा जोडका साथ उठाउने निर्णय समेत पार्टीले गरेको छ।

प्रतिपक्षमा रहनु पर्ने जिम्मेवारीका बाबजुद संविधान रक्षाका लागि बाध्यात्मक रुपमा सरकारमा जानु परेको यथार्थ जनसमक्ष राखिने कांग्रेसले प्रष्टाएको छ। राष्ट्रिय सहमतिको स्थिति निर्माण गरेर हालसम्मकै सबैभन्दा ठूलो सहयोग परियोजना एमसीसी पारित गर्न सकेको सन्देश पनि कांग्रेसले जनतालाई सुनाउने भएको छ । जनस्तरमा एमसीसीको सन्दर्भमा रहेका भ्रम बुँदागत रुपमा चिर्दै वास्तविकता प्रस्तुत गर्ने कांग्रेसले जनाएको छ।

७७ जिल्लामा केन्द्रीय नेताहरूलाई प्रतिनिधि खटाइने भएको छ। केन्द्रीय प्रतिनिधि फागुन २७ भित्र खटाइएको जिल्लामा जान पार्टीले निर्देशन दिएको छ। चुनावी प्रचार सकिएपछि पनि पार्टीलाई प्रभावकारी बनाउन पटक-पटक जिल्ला पुग्न केन्द्रीय नेतालाई आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web